राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको लागि तोकेको समयसीमाले संसद विघटनको योजना देखिएको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिक्रिया दिएका छन्।
राष्ट्रपति भण्डारीको विज्ञप्ति आएको केहीबेरपछि सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया दिँदै पौडेलले लेखेका छन्, ‘राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिइकन संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आह्वान गर्नु भनेको संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र हो।’
उनले सरकार बनाउन दिइने सामान्य प्रचलन समेत राष्ट्रपतिले मिचेको र त्यसमा संविधान फाल्ने षडयन्त्र रहेको बताए।
‘सामान्यतया नयाँँ सरकार गठनका लागि न्यूनतम तीन दिनको समय दिने प्रचलन हो,’ पौडेलले अगाडि लेखेका छन्, ‘तर एकाएक २४ घण्टाको पनि समय नदिई सरकार गठनको आह्वान गर्नु भनेको संसदलाई विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भन्दा अरु केहि हुन सक्दैन्।’
संविधान जोगाउने कार्यमा लाग्न पौडेलले सबैलाई अपिल गरेका छन्।
‘यो अवस्थामा सम्पूर्ण राजनीतिक दलहरुलाई नेपाली जनताको ७० वर्षको त्यागबाट आएको संविधान जोगाउने प्रयासमा लाग्न हार्दिक अपिल गर्दछु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

प्रतिक्रिया