गृहमन्त्रीको रुपमा आज तेस्रो पटक पदभार सम्हालेका गृहमन्त्री रामबहादुर थापाले आज तीन महत्वपूर्ण निर्णयमा हस्ताक्षर गरेका छन्।
पदभार पछि पहिलो निर्णय गृहमन्त्री थापाले कोरोनाको महामारीसँगै नजिकिँदै गरेको मनसुनजन्य विपदको समेत जोखिम न्युनिकरण, पूर्वतयारी र व्यवस्थापन गरी मानवीय र आर्थिक क्षति न्युनिकरण गर्न थप स्रोतसाधन परिचालन तथा व्यवस्थापन गर्ने सम्बन्धी मानवीय सहायता र क्लस्टर एक्टिभेसन सम्बन्धी प्रस्तावमा हस्ताक्षर गरे।
राष्ट्रिय विपद प्रतिकार्य कार्यढाँचामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय ढाँचाको तथा कार्यढाँचा र नेपालमा कार्यरत विषयगत क्षेत्रका सरकारी निकाय र सहयोगी निकायको व्यवस्था रहेको छ। सोही बमोजिम विषयगत क्षेत्र र सहयोगी निकायलाई वर्तमान महामारीको प्रतिकार्य र आसन्न मनसुनजन्य विपदको जोखिम न्युनिकरण र पूर्वतयारीका लागि सो सम्बन्धी प्रस्ताव पारित गएिको हो।
योसँगै संयुक्त राष्ट्रसंघीय आवासीय मानवीय संयोजकको कार्यालयमा सहयोगका लागि पत्र लेख्न राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई बाटो खुलेको छ।
यसैगरी अर्को महत्वपूर्ण निर्णय कोरोनाको महामारीसँगै नजिकिँदै गरेको मनसुनजन्य विपदको समयलाई मध्यनजरगर्दै अन्तर्राष्ट्रिय सहायता आव्हन गर्ने निर्णयमा समेत गृहमन्त्री थापाले हस्ताक्षर गरेका छन्। सो प्रस्ताव अर्थ मन्त्रालयमा पठाईनेछ।
कोरोना नियन्त्रणलाई थप सुदृढ र प्रभावकारी बनाउन, मनसुनजन्य विपदको पूर्वतयारी प्रभावकारी बनाउन सरकारी सन्यन्त्रका अलावा गैर सरकारी तथा अन्तर्राष्ट्रिय सहयोगको परिचालन आवश्यक देखिएको ठहर गर्दै सो सम्बन्धी प्रस्ताव गृह मन्त्रालयले अघि बढाएको हो।
यसैगरी गृहमन्त्रीले आज तेस्रो महत्वपूर्ण निर्णय अत्यावश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णयमा हस्ताक्षर गरेका छन्। यसअघि यससम्बन्धमा जारी आदेशको समयावधी जेठ २१मा सकिन लागेकोले सो सम्बन्धी नयाँ प्रस्तावमा आज गृहमन्त्रीले हस्ताक्षर गरेका हुन्।

प्रतिक्रिया