राजनीति


इजरेल–प्यालेस्टाइन विवादः ती समाधान नभएका मुद्दा जसले हिंसा भड्कायो

इजरेल–प्यालेस्टाइन विवादः ती समाधान नभएका मुद्दा जसले हिंसा भड्कायो

नेपालखबर
बैशाख ३०, २०७८ बिहिबार १२:१४,

इजरेल र प्यालेस्टाइनबीचको विवाद मध्यपूर्व देशहरुकै लागि समस्य हो। तर यसपटक विवाद हिंस्रक बनेको छ। यसपटक दुवै तर्फबाट रकेटबमको वर्षा गरिएका छन्।

यो विवाद पछिल्लो केही समययता अन्तर्राष्ट्रिय अखबारमा ओझेलमा परेका थिए तर समस्या समाधान भने भएको थिएन।

इजरेल र प्यालेस्टाइनबीचको विवाद समाधान भएको छैन, मुद्दा त्यहीँ हो र एकअर्का प्रतिको घृणा पनि उस्तै छ। यो लडाइँ र समस्या कयौं पुस्तादेखि चल्दै आएको थियो।

जबसम्म यो संघर्ष चलिरहन्छ, दुवैपक्ष सुरक्षित हुनेछैनन्। यो पनि निश्चित छ कि जबसम्म पुरै समस्या समाधान गरिँदैनन् धेरै वर्षसम्म गम्भीर संकट आइरहन्छन्।

पछिल्ला १५ बर्षमा यो विवाद प्यालेस्टाइनको गाजा पट्टी र इजरेललाई विभाजित गर्ने सीमाको तार वरिपरि जारी छ।

यसपटक भने इजरेलको राजधानी जेरुसलेम र त्यहाँको धार्मिकस्थलको विषयमा विवाद हुँदा हिंसा भड्केको छ।

क्रिश्चियन, यहुदी र मुसलमान सबै सो क्षेत्रलाई पवित्र मान्छन्। उनीहरु सबैको लागि त्यस क्षेत्रले धार्मिक महत्व राख्दछ।

जेरुसलेम यहुदी र मुसलमानको धर्मको उत्पत्तिस्थल हो भने यो उनीहरु दुवैको राष्ट्रिय प्रतिकको हिस्सा हो।

भौगोलिक रुपमा यहुदी र मुसलमानको धार्मिकस्थल नजिकै छन्। यस्तै क्रिश्चियनको ‘द चर्च अफ होलि सेल्पकर’ पनि इजरेलमै छ। प्यालेस्टाइनका क्रिश्चियनहरुको यसमा ठूलो आस्था छ।

यसबीचमा जेरुसलेम नजिकैको शेख जराहबाट प्यालेस्टाइनीहरुको घर हटाउने धम्की आउनु यसपटकको विवादको एउटा कारण हो जहाँ प्यालेस्टाइनीहरू बस्छन्।

यहाँको जमिन र सम्पत्तीलाई यहूदीहरूले इजरेलको अदालतमा दावी गरेका छन्।

यहुदीको जनसंख्या बढाउने प्रयास

यहाँ केबल केही घरको विषयमा विवाद छैन। जेरुसलेममा यहुदीको संख्या बढाउन त्यहाँको सरकारले पहिल्यैबाट चाहेको छ जसका कारण पनि यहाँ तनाव छ।

शहरको चारैतिर यहुदीहरुले धेरै संख्यामा घरहरु बनाएका छन्। इजरेलमाथि अन्तर्राष्ट्रिय कानुन तोडेर घरहरु बनाएको पनि आरोप लगाइएको छ। मुस्लिमलाई अल्पसंख्यक बनाउन सरकार र यहुदीले नै मिलेर यो पुरानो शहरमा विस्तारै बस्ती बसाइरहेका छन्।

तथ्यांकअनुसार यतिबेला जेरुसलेममा ३६ प्रतिशत मानिस मुस्लिम हुन्। यिनीहरु ९० प्रतिशत प्यालेस्टाइनका नागरिक हुन्।

पछिल्लो केहीहप्ता इजरेलका प्रहरी हतियारसहितका यहाँ तैनाथ छन्। रमजानको बेलामा यहाँको अल–अक्सा मस्जिदमा ग्यास र स्टन ग्रिनेटको प्रयोग भएको थियो।

मक्का र मदिनापछि मुसलमान अल–अक्सा मस्जिदलाई पवित्र मान्छन्। यो मस्जिदमा मुसलमानको मात्र दाबी भएको संयुक्त राष्ट्रसंघले बताइसकेको छ।

त्यसलगत्तै प्यालेस्टाइनको प्रमुख इस्लामिक समुह हमासले मस्जिदबाट सेना र प्रहरी हटाउन समयसीमा तोकिदिएको थियो तर सेना र प्रहरी नहटाइएपछि हमासले इजरेलमा रकेटबम प्रहार गरेको हो।

समाधान नभए जारी रहन्छ हिंसा

हमासले रकेट हानेसँगै इजरेलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हालै ट्विटमा भनेका छन्,‘गाजाका चरमपन्थी संगठनले लक्ष्मण रेखा पार गरेका छन्। इजरेलले अधिक तागतका साथ जवाफ दिनेछ।’

बीबीसी संवाददाता जेरेमी बोवेनका अनुसार लामो समयदेखि चलिरहेको विवाद समाधान नभए दोहोरिँदै हिंसा चलिरहन्छ।

सन् १९९५ देखि २००० सम्म उनी जेरुसलेममा बसेका थिए। तर विवाद कहिले समाधान हुन्छ भनेर आफूलाई जवाफ नमिलेको उनी सुनाउँछन्।

सन् १९९० मा भएको ओस्लो सम्झौतापछि विवाद समाधान हुने अपेक्षा थियो तर त्यो हुन सकेन।

उनका अनुसार प्यालेस्टाइन र इजरेलका नेताले निजी राजनीतिक लडाई लडिरहेका कारण समस्या समाधान नभएको हो।

यहाँ वषौंसम्म समस्या समाधान गर्ने गम्भीरता देखाइएको छैन।

कसरी समाधान हुन्छ त विवाद

दुवै देशबीचको मुद्दा समाधानको सुझावहरु विभिन्न थिंक ट्यांक संस्थाले दिएका छन्।

दुई थिंक ट्यांक संस्था कार्नेजी एन्डाउमेन्ट फर इन्टरनेसनल पिस तथा यूएस–मिडिल इस्ट प्रोजेक्टले एउटा संयुक्त रिपोर्टमा प्यालेस्टाइन र इजरेल दुवैको एकाधिकार र सुरक्षाको विषयमा कुराकानी गरेको छ।

रिपोर्टमा संयुक्त राष्ट्रसंघलाई सम्बोधन गर्दै भनिएको छ,‘इजरेलको नियन्त्रण क्षेत्रमा बसेका मानिसहरुलाई पुरै समानता र स्वतन्त्रता प्रदान गरिनुपर्छ र असमान प्रणालीलाई बढावा दिनु हुँदैन।’

इजरेलमा रहेका मुसलमान तथा प्यालेस्टाइनका नागरिकलाई समानता र स्वतन्त्रता प्रदान गरिए द्वन्द्व कम हुने अपेक्षा गरिएको छ।

यो नयाँ सोच हो तर यसहप्ता पुरानो वास्तविकता, आरोप–प्रत्यारोप तथा हिंसाले तनाव कम हुने आशा न्युन देखिएको छ। बीबीसी

याे पनि: प्यालेस्टाइन र इजरेलको आकाशभर रकेट बमकाे वर्षा, ७४ को मृत्यु (फोटो/भिडिओ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad