जनता समाजवादी पार्टी (जसपा)ले संसदमा एउटै दल रहेर पनि दुई फरक फरक दलजस्तो अभ्यास गरेको छ।
नयाँ सत्ता समीकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने कि उनलाई हटाउने भन्ने विषयमा विभाजित रहेको जसपाले संसदमा दोहोरो नीति अपनायो।
प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्तावको विषयमा सभामुखले दलगत आधारमा हरेक दलका नेतालाई बोल्न समय दिएका थिए।
तर जसपाको हकमा भने एउटै पार्टीका दुई जना नेताले संसदमा धारणा राखे र दुई नेताले सरकारबारे विपरित नीति अवलम्बन गरे।
ओलीलाई हटाउने पक्षमा रहेका अध्यक्ष उपेन्द्र यादवले संसदमा प्रधानमन्त्रीले विश्वासको मत माग्ने प्रस्तावको विपक्षमा मतदान गर्न आग्रह गरे।
‘जुन सदनलाई असंवैधानिक तबरले विघटन गर्नुभयो। जुन संसदमा यहाँको खुद विश्वास छैन त्यसमा तपाईँलाई कसरी मत दिने?,’ यादवको प्रश्न थियो।
संसदमा ठाकुर प्रधानमन्त्री ओलीप्रति नरम देखिए।
ओलीले आफूहरुको कुरा सुनेको मात्र नभएर कार्यान्वयन गरेको भन्दै धन्यवाद समेत दिए।
ओलीले आफ्ना १ सय २० जना कार्यकर्ताको मुद्दा फिर्ता लिएर कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भन्दा फरक व्यवहार देखाएको बताए।
सुरुमा यहि सरकारमा रहेका अध्यक्ष यादवले भने संसदमा प्रधानमन्त्रीको कडा आलोचना गरे। कोरोना संक्रमणको जोखिम कम नगरी सरकार अयोध्या र रामको रथ यात्रातिर लागेको आरोप लगाए।
संविधान संशोधनको नाममा आफूहरुलाई सरकारले धोका दिएको उनले गुनासो गरे।
प्रधानमन्त्री ओली संघीयतासमेत सखाप पार्ने खेलमा लागेको यादवले आरोप लगाए।
ठाकुरले भने आफूहरु न त प्रधानमन्त्रीको पक्षमा न त विपक्षमा रहेको बताए।
ठाकुरले संसदमा आफ्नो पार्टी कसैको पनि पक्ष र विपक्षमा नरहेको बताए।
आइतबार जसपा शीर्ष नेताको बैठकले विश्वासको मतमा मतदान गर्दा सांसदहरुलाई ह्वीप नलगाउने र स्वविवेक प्रयोग गर्न दिने निर्णय गरेको थियो।

प्रतिक्रिया