राजनीति


संसदमा प्रधानमन्त्रीलाई देउवाका प्रश्नैप्रश्न

संसदमा प्रधानमन्त्रीलाई देउवाका प्रश्नैप्रश्न

नेपालखबर
बैशाख २७, २०७८ सोमबार ९:९,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले अहिलेको सरकारले सुरुदेखि नै लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि नै प्रहार गरेको बताएका छन्।

यो सरकारमा रहेकाबाट संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र सँधै असुरक्षित रहेको उनले बताए।

सरकार गठन हुँदा झण्डै दुईतिहाइ बहुमत रहेको सरकारका प्रधानमन्त्री तीन वर्षमै विश्वासको मत लिन आउनुपरेको उनले बताए।

‘यसका लागि को जिम्मेदार छ? प्रधानमन्त्री नै जिम्मेवार हो,’ उनले संसदमा सम्बोधन गर्दै उनले भने।

आफूहरुले सरकारलाई निरन्तर रचनात्मक सहयोग गरेको उनले बताए।

त्यसो गर्दा कमजोर प्रतिपक्षी भनी आफूहरु आलोचित भए पनि प्रधानमन्त्रीलाई साथ दिएको उनको भनाइ छ।

‘आफू कार्यकारी भएर काम नगर्ने अनि अरुलाई दोष थोपर्न मिल्छ?’ उनले प्रश्न गरे, ‘प्रधानमन्त्रीलाई आग्रह छ, मानिस दुनियाँबाट भाग्न सक्छ आँफैबाट भाग्न सक्तैन। छातीमा हात राखेर भन्नुस् यो सबै तपाईँले गर्दा भएको होइन?’

उनले के कारणले गर्दा संविधानमाथि निरन्तर प्रहार गर्नुपर्यो‍ भनी प्रधानमन्त्री ओलीमाथि प्रश्नै प्रश्न उठाएका थिए।

सरकारबाटै संविधान भत्काउने काम भयो। प्रधानमन्त्रीले प्रतिनिधि सभा सदस्य शपथ नै नलिई प्रधानमन्त्री भएको प्रसंग कोट्याए।

‘प्रतिनिधि सभालाई उपसभामुखविहीन बनाउनेमा जिम्मेवार को हो? किन असंवैधानिक तबरले प्रतिनिधि सभा विघटन गर्नुभयो? सर्वाेच्चको फैसलालगत्तै राजीनामा किन दिनुभएन?’ उनले प्रश्न उठाए

प्रधानमन्त्री ओली अधिकारको केन्द्रीकरणमा लागेको, हुकुमी शैलीमा सरकार चलाएको उनको भनाइ छ।

‘दल विभाजनसम्बन्धी अध्यादेश, सांसद अपहरण गर्ने घटना भए। संसद अधिवेशन अन्त्य गर्दा राष्ट्रिय अन्तराष्ट्रिय परम्परा मिचियो,’ देउवाले भने, ‘सभामुखलाई जानकारी नदिई संसद अधिवेशन अन्त्य गरियो। यो सरकार संसदीय मान्यताप्रति प्रतिवद्ध देखिएन।’

प्रधानमन्त्री ओलीले संविधान मै हुँ, संविधानभन्दा म माथि हुँ भन्ने प्रवृत्ति देखाएको उनको दाबी छ।

सरकार संविधान कार्यान्वयनमा असफल भएको र कानुन नहुँदा कानुन बमोजिम प्रदेशहरुले अधिकार प्रयोग गर्न नपाएको देउवाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad