राजनीति


माधव नेपालले मध्यराति प्रधानमन्त्रीलाई पठाएको पत्रप्रति प्रेस सल्लाहकारको कटाक्ष

माधव नेपालले मध्यराति प्रधानमन्त्रीलाई पठाएको पत्रप्रति प्रेस सल्लाहकारको कटाक्ष

नेपालखबर
बैशाख २७, २०७८ सोमबार ४:५६,

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सहमतिका लागि सर्त राख्दै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार मध्यराति पठाएको पत्रप्रति प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले कटाक्ष गरेका छन्।

सर्वाेच्च अदालतको फैसलाबमोजिम नेकपा एमालेलाई २०७५ जेठ २ गते अर्थात् नेकपा माओवादी केन्द्रसँग एकता हुनुअघिको अवस्थामा फर्काउनुपर्ने मागमा अध्यक्ष ओली सहमत नभएपछि नेपाल पक्षका सांसदले सामूहिक राजीनमा दिने चेतावनी दिए। उनीहरूले राजीनमा दिँदा संसदमा विश्वासको मत लिने क्रममा आफू अल्पमतमा पर्ने भएकाले प्रधानमन्त्री ओलीले नेपाल पक्षलाई फकाउने प्रयास गरिरहेका छन्। यस क्रममा ओली र नेपालबीच तथा दोस्रो तहका नेताबीच पटकपटक छलफल भए पनि सहमति हुन सकेको छैन।

यसैकारण सामूहिक राजीनामा गर्न भनेर आइतबार माधव नेपालसहित उनी पक्षका सांसद सिंहदरबारस्थित संसद सचिवालय पुगेका थिए। तर ओली पक्षका नेताहरू विष्णु पौडेल र सुवास नेम्वाङ त्यहीं पुगेर रोकिन आग्रह गरे। उनीहरूसँगको छलफलपछि नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई आज (सोमबार) बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको थियो भने आइतबार मध्यराति नेता नेपालले प्रधानमन्त्री ओलीलाई ६ बुँदे पत्र पनि पठाएका थिए।

यो पनि : ओलीलाई माधव नेपालको पत्र : पार्टी र लोकतन्त्र रक्षाका लागि सांसद पद त्याग गर्न सक्छौं

त्यही पत्रका विषयमा सोमबार बिहान प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले कटाक्ष गरेका हुन्।

उनले दिएको व्यंग्यात्मक अभिव्यक्तिबाट पनि एमालेभित्रका दुई पक्ष एक हुने सम्भावना निकै कम देखिन्छ।

प्रेस सल्लाहकार थापाले नेता नेपाल परचक्रीको सेवामा लागेको आरोप लगाउँदै त्यो स्वीकार गर्नु उचित नहुने टिप्पणी गरेका छन्।

‘म त आइसोलेसनमा छु, निकै राति माधव नेपालले आफ्ना सर्त राख्दै अन्यथा बाटो लाग्ने नै पो भन्नुभएछ,’ प्रेस सल्लाहकार थापाले सोमबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रधानमन्त्रीले विश्वासको मत लिन कसैका मनोगत सर्त र कुण्ठासँग सौदाबाजी गर्न भनी मजाक गरेको देखियो। राजनीति गर्नु राम्रो, तर परचक्री सेवाको नियतलाई स्वीकार्नु किमार्थ उचित हुँदैन।’

यी पनि : 

अल्टिमेटमको समयभित्र ओलीबाट आएन कुनै जवाफ, अब नेपाल पक्षका सांसदले देलान् सामूहिक राजीनामा?

सामूहिक राजीनामा दिने तयारी गरेको माधव नेपाल पक्षका सांसद को को?

राजीनामा दिएर आजै पुनः प्रधानमन्त्री नियुक्त हुने ओलीको तयारी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .