राजनीति


अल्टिमेटमको समयभित्र ओलीबाट आएन कुनै जवाफ, अब नेपाल पक्षका सांसदले देलान् सामूहिक राजीनामा?

अल्टिमेटमको समयभित्र ओलीबाट आएन कुनै जवाफ, अब नेपाल पक्षका सांसदले देलान् सामूहिक राजीनामा?

नेपालखबर
बैशाख २७, २०७८ सोमबार ३:२५,

अन्ततः नेकपा एमालेको माधव नेपाल पक्षले सहमतिका लागि पार्टी अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समयसीमा सकिएको छ।

तोकिएको सममयसीमा सोमबार बिहान ९ बजेसम्म अध्यक्ष ओलीबाट कुनै प्रतिक्रिया नआएकाले आफूहरू अन्तिम निर्णयका लागि सिंहदरबारमा भेला हुन सुरु गरिएको नेपाल पक्षका एक सांसदले बताए।

‘सहमतिका लागि हामीले दिएको समयसीमा सकिएको छ, तर प्रधानमन्त्रीज्यूबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन,’ सोमबार बिहान नेपालखबरसँग उनले भने, ‘अब कोर्स निकै अगाडि बढेको छ, हामी सिंहदरबारमा भेला हुँदैछौं, यहींबाट अन्तिम निर्णय गर्नेछौं।’

आइतबारै सामूहिक राजीनामा दिने तयारी गरेर नेपाल पक्षका सांसद सिंहदरबारस्थित संसद सचिवालय पुगेका थिए। तर सल्लाह गर्न भन्दै ओली पक्षका एमाले नेताहरू विष्णु पौडेल र सुवास नेम्वाङ त्यहीं माधव नेपाललाई भेट्न पुगेपछि राजीनामा रोकिएको थियो।

पौडेल र नेम्वाङसँग छलफल गरेपछि नेता नेपालले आफ्ना सांसदसहितका नेताहरूसँग पुनः आन्तरिक छलफल गरी सहमतिका लागि प्रधानमन्त्री ओलीलाई आज बिहान ९ बजेसम्मको अल्टिमेटम दिएका थिए।

एमाले सचिव योगेश भट्टराईले आइतबार नेपालखबरसँग सोमबार (आज) बिहान ९ बजेसम्म अध्यक्ष एवं प्रधानमन्त्री ओलीबाट कुनै पहल भएन भने आफूपक्षीय सांसद साढे ९ बजे सिंहदरबारमा भेला हुने र सामूहिक राजीनामा दिने दाबी गरेका थिए। त्यसपछि आइतबार मध्यराति माधव नेपालले ओलीलाई ६ बुँदे पत्र पनि पठाएका छन्। यस्तो : पार्टी र लोकतन्त्र रक्षाका लागि सांसद पद त्याग गर्न सक्छौं

तर ओलीबाट अहिलेसम्म कुनै जवाफ नआएपछि नेपाल पक्षका सांसद सिंहदरबारमा भेला हुन थालेका हुन्।

यो खबर लेख्दासम्म नेपालखबरसँग कुरा गर्ने नेपाल पक्षका ती सांसदले राजीनामै दिने भनेर किटान गरिसकेका छैनन्। भेला भइसकेपछि अन्तिम निर्णय हुने भनेका छन्।

सर्वाेच्च अदालतको फैसलापछि नेकपाबाट अलग भएको एमालेलाई २०७५ जेठ २ गते अर्थात् माओवादी केन्द्रसँग एकता हुनुअघिकै अवस्थामा फर्काउनुपर्ने नेपाल पक्षको माग छ। किनकि अदालतको फैसलापछि ओलीले एमालेमा पद र जिम्मेवारी अदलबदल गराइसकेका छन्।

उनले एमालेमा अध्यक्ष र महासचिवबाहेक अन्य सबै पदाधिकारीको पद खारेज गरिसकेका छन् भने माधव नेपाल–झलनाथ खनाल पक्षलाई जिम्मेवारीविहीन बनाएका छन्। साथै गृहमन्त्री रामबहादुर थापासहित माओवादी केन्द्रबाट आफूसँग आएका २३ नेतालाई एमालेको केन्द्रीय सदस्य बनाउँदै एमाले केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा परिणत गर्नेलगायत थुप्रै निर्णय गरिसकेका छन्।

यी सबै खारेज गरी पार्टीलाई नेकपा बन्नुअघिकै अवस्थामा कायम गरिनुपर्ने अडान नेपाल पक्षको छ भने प्रधानमन्त्री ओली भइसकेका निर्णय बदल्न नसकिने जिकिर गरिरहेका छन्। यसैकारण दुई पक्षबीच पटकपटक भएका भेटवार्ता र छलफललले पनि सहमति हुन नसकेको हो।

यी पनि : 

सामूहिक राजीनामा दिने तयारी गरेको माधव नेपाल पक्षका सांसद को को?

राजीनामा दिएर आजै पुनः प्रधानमन्त्री नियुक्त हुने ओलीको तयारी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .