राजनीति


कोरोनाः चीनमाथि अनुसन्धान हुनुपर्छ भनेपछि चीनद्वारा अस्ट्रेलियासँगको आर्थिक संवाद स्थगन

कोरोनाः चीनमाथि अनुसन्धान हुनुपर्छ भनेपछि चीनद्वारा अस्ट्रेलियासँगको आर्थिक संवाद स्थगन

नेपालखबर
बैशाख २३, २०७८ बिहिबार ९:५१,

कोरोना भाइरस उत्पत्तिका बारेमा अस्ट्रेलियाले चीनमाथि छानबिन गर्नुपर्ने माग गरेपछि अस्ट्रेलियाविरुद्ध चीनले दबाबमूलक नीति अख्तियार गरिरहेको हो।

साथै केही वर्षदेखि अस्ट्रेलियाको प्रमुख बजार रहेको चीनले अस्ट्रेलियाली सामानको आयातमा एकपछि अर्को प्रतिबन्ध पनि घोषणा गरिरहेको छ।

बिहीबारको नयाँ घोषणाले दुबै मुलुकबीचको कुटनीतिक सम्बन्धमा थप चिसोपन ल्याउने सङ्केत गरेको छ। साङ्केतिक भए पनि संवाद स्थगनले विशेष अर्थ राख्ने एसिया–प्रशान्त क्षेत्र सम्बन्धी अस्ट्रेलियाली कुटनीतिका जानकार केटलिन बायर्नले बताए। उनकाअनुसार दुबै मुलुकबीच सन् २०१७ यत कुनै छलफल नै भएको छैन।

चीनले अस्ट्रेलियाली कोइला, गहुँ र अन्य सामाको आयात रोक्का गरेपछि दुबै देशबीचको सम्बन्ध निकै तल्लो स्तरमा पुगेको छ। चीनले एकपछि अर्को दबाब दिए पनि अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनको सरकारले आफ्नो अडान छाडेको छैन।

अस्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयकी निर्देशक बायर्नले भने, “यो साँच्चिकै महत्वपूर्ण र साङ्केतिक कदम हो, तर सारभूत रुपमा हेर्दा यसको असर सीमित मात्र छ।”

चीन सरकारले अस्ट्रेलियामाथि शीतयुद्धकालीन मानसिकता र वैचारिक विभेदका कारण सम्बन्ध सामान्यीकरणलाई बेवास्ता गरिरहेको आरोप लगाएको छ।

चीनको राष्ट्रिय विकास तथा सुधार आयोगले जारी गरेको विज्ञप्तिमा चीन–अस्ट्रेलिया रणनीतिक आर्थिक संवाद अन्तर्गत सबै कृयाकलापहरु अनिश्चितकालका लागि स्थगित गरिएको उल्लेख छ।

चीनले यस्तै संवादहरु अस्ट्रेलिया, संयुक्तराज्य अमेरिका र अन्य कतिपय मुलुकसँग गर्दै आएको छ जसमा व्यापार विवाद र अन्य आर्थिक मुद्दाहरुमाथि छलफल हुने गरेको छ।

“यो दुर्भाग्यपूर्ण हो। हामीले चीनसँग संवाद गरेकै राम्रो हो,” अस्ट्रेलियाका विपक्षी नेता एन्थोनी अल्बानेसले सिड्नीमा भने,“यो चीनको मामिला मात्र होइन, दुबै मुलुकसँग यो सम्बन्धित छ ।”

चीनको अस्ट्रेलिया, भारत र कतिपय अन्य छिमेकी मुलुकसँगको सम्बन्ध पछिल्ला केही वर्षदेखि समस्याग्रस्त बन्दै गएको छ। चीनले अस्ट्रेलिया र पश्चिमा प्रजातन्त्रवादी मुलुकहरुसँग पनि चीनले आफ्नो राजनीतिक प्रभाव देखाउन खोजेको छ।

गत वर्ष चीनले अस्ट्रेलियाबाट हुने अधिकांश वस्तुको आयात रोक्ने घोषणा गरेको थियो। खासगरी कोरोनाभाइरसको उत्पत्तिलाई लिएर चीनमाथि छानबिन गर्नुपर्ने अस्ट्रेलियाले माग गरेपछि विवाद चर्किएको हो।

चिनियाँ मन्त्रीहरुले अस्ट्रेलियाली समकक्षीले गरेका फोन समेत लिन अस्वीकार गरेका थिए। अस्ट्रेलियाली व्यापार मन्त्री डान टेहानले एक विज्ञप्ति नै प्रकाशन गरी चिनियाँ रबैयाप्रति निराशा व्यक्त गरेका छन्।

उनले भने, “हामी संवादका लागि खुला छौं र मन्त्री स्तरमा छलफल गर्न तयार छौं।”

अस्ट्रेलियाली सामानको पहिलो बजार चीन हो, तर प्रतिबन्धहरुले खासै असर नपरेको दुबै देशको भनाई छ। किनभने चीनका स्टिल मिलले अझै पनि अस्ट्रेलियाली फलाम आयात गरिरहेका छन्। अस्ट्रेलियाबाट निकासी हुने सबैभन्दा मूल्यवान धातु पनि फलाम नै हो।

गत महिना, अस्ट्रेलिया सरकारले भिक्टोरिया राज्यले चीनको “बेल्ट एन्ड रोड बिआरआई” सँग गरेको दुई वटा सम्झौता रद्द गरिदिएको थियो।

अस्ट्रेलियाली विदेशमन्त्रीले अस्ट्रेलियाको उक्त कदम कुनै एक राष्ट्रपति लक्षित नरहेको बतएका थिए तर चीनले अस्ट्रेलियाको उक्त निर्णयको प्रतिकार गर्ने चेतावनी दिइसकेको छ। एपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad