राजनीति


एमाले स्थायी कमिटी बैठक बालुवाटारमा बस्दै, माधव नेपाल पक्षलाई होला त कारबाही?

एमाले स्थायी कमिटी बैठक बालुवाटारमा बस्दै, माधव नेपाल पक्षलाई होला त कारबाही?

नेपालखबर
बैशाख २३, २०७८ बिहिबार ३:४०,

नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्दै छ। बिहीबार बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो।

राष्ट्रियसभाको उप निर्वाचनको लागि आवश्यक निर्णय लिन बैठक बस्न लागेको एमाले नेता सुवास नेम्बाङले जानकारी दिए। ‘उपनिर्वाचन तयारीको लागि बैठक बस्न लागेको हो,’ बैठकका एजेण्डाबारे बुझ्न खोज्दा नेता नेम्बाङले नेपालखबरसँग भने।

तर, स्रोतले भने आजको बैठकले माधव नेपाल पक्षका सांसदलाई थप कारबाही गर्न सक्ने दाबी गरेको छ। राष्ट्रियसभाको उपनिर्वाचनमा नेपाल पक्षले कांग्रेस र माओवादी केन्द्रसँग गठबन्धन गर्ने निर्णय गरेको सन्दर्भमा एमाले अध्यक्षसमेत रहेका ओलीले आकस्मिक रुपमा बैठक बोलाएका हुन्।

कांग्रेस, माओवादी केन्द्र, एमालेको नेपाल समूह र जनता समाजवादी पार्टीले राष्ट्रियसभाको उपनिर्वाचनमा गठबन्धन गर्ने निर्णय बुधबार मात्र गरेका छन्। उनीहरुले एमालेको नेपाल खेमाका नेता डा.खिमलाल देवकोटालाई उम्मेदबार बनाउने निर्णय गरेका छन्। बाग्मती प्रदेशको अन्य समूहतर्फ रिक्त भएको एक सिटका लागि जेठ ६ गते उपचुनाव हुँदैछ।

एमाले ओली समूहले भने माओवादीबाट एमाले प्रवेश गरेका रामबहादुर थापालाई उम्मेदवार बनाउने निर्णय यसअघि नै गरिसकेको छ।

आजको बैठकमा वैशाख २७ गते प्रधानमन्त्री केपी ओलीले संसदमा लिन लागेको विश्वासको मतसहितका समसामयिक राजनीतिक विषयमा छलफल हुने स्रोतले जनाएको छ। ओलीले बोलाएको आजको बैठकमा पनि आफूहरु सहभागी नहुने नेपाल समूहका नेताहरुले बताएका छन्।

ओलीले वैशाख ६ गते एमालेका वरिष्ठ नेता माधव नेपालसहित २७ जना नेतालाई स्पष्टीकरण सोधेका थिए। त्यसअघि चैत १६ र १९ गते उनले नेपालसहित चार नेतालाई पार्टीबाट निलम्बन गर्ने निर्णय गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad