गण्डकी प्रदेशमा विश्वासको मत लिन नसक्ने अवस्था आएपछि सत्ता दूरुपयोग गरेको नेपाली कांग्रेसले आरोप लगाएको छ।
नेपाली कांग्रेस कास्कीका अध्यक्ष कृष्ण बहादुर केसीले एक विज्ञप्ति जारी गर्दै अविश्वासको प्रस्तावमा मतदानको तयारी भैरहेको अवस्थामा सांसदलाई बदनीयतपूर्वक रहस्यमय तरिकाले अनुपस्थित गराइनु गम्भिर भएको बताएका छन्।
'सांसदलाई बदनीयतपूर्वक अनुपस्थित गराइएको घटनामा सरकार स्वयं संलग्न रहनु असंवैधानिक र अप्रजातान्त्रिक क्रियाकलाप भएको हाम्रो ठहर छ', विज्ञप्तिमा भनिएको छ, 'अविश्वासको प्रस्ताव दर्ता हुने भएपछि हठातमा संसद अधिवेशन अन्त्य गर्ने, छलफल शुरु भएपछि पीसीआर परीक्षणका नाममा संसद अवरुद्ध पार्ने जस्ता संसदीय अभ्यास विपरितका क्रियाकलापहरुमा सरकार शुरुदेखिनै संलग्न रहेको प्रष्ट देखिन्छ।'
एकै समयमा सांसद शाहीको पीसीआर परीक्षणको रिपोर्ट फरक फरक आउनु आफैमा रहस्यमय र स्वास्थ्य संस्थाको विश्वसनीयतामा समेत प्रश्न उठ्ने विषय भएको कांग्रेसले बताएको छ।

प्रतिक्रिया