नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको आवश्यक खोपको व्यवस्था मिलाउ ठोस योजना सहित कुटनीतिक सक्रियता बढाउन सरकारलाई आग्रह गरेका छन्।
सभापति देउवाले आज एक विज्ञप्ति जारी गर्दै आम नागरिकलाई कोभिड–१९ को संक्रमणबाट सुरक्षित राख्न खोप सबैभन्दा भरपर्दो उपाय भएको बताएका छन्।
यसतर्फ सरकार समयमा गम्भीर नहुनाले खोपको समुचित व्यवस्था हुन नसकेको देउवाको आरोप छ।
खोपको अग्रीम बुकिङ्ग गर्न नसकेका नेपाल जस्ता देशहरुलाई बुकिङ्ग भएको संख्यामध्येबाट खोप सुविधा उपलव्ध गराउन उनले मित्रराष्ट्रहरुसँग अनुरोध गरेका छन्।
कोरोना संक्रमितको उपचारका लागि आवश्यक स्वास्थ्य संरचना, स्वास्थ्य सामाग्रीहरुको उपलब्धता र स्वास्थ्यकर्मीहरुको मनोवल उच्च राख्न आवश्यक व्यवस्था मिलाउन सरकार गम्भीर हुनु पर्ने उनको भनाई छ।
देउवाले कोरोनाबाट सुरक्षित रहन अनिवार्य मास्क लगायतका सुरक्षा व्यवस्था र संक्रमण रोकथामका लागि आवश्यक अन्य स्वास्थ्य सुरक्षा प्रोटोकलको पालना गर्न आम नागरिकलाई आग्रह गरेका छन्।

प्रतिक्रिया