नेपाल कम्युनिष्ट आन्दोलनका शिखर पुरुष एवं प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको आज २२ औं स्मृति दिवस मनाइएको छ।
नेकपा (एमाले)का संस्थापक अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री अधिकारीको स्मृतिमा यस वर्ष औपचारिक कार्यक्रम गरी मनाउन नसकिएपनि उनको सम्झनामा विभिन्न व्यक्तित्वहरुले काठमाडौंको सानेपामा पुगेर उनको शालिकमा माल्यार्पण गरेका छन्।
मनमोहन स्मृति प्रतिष्ठान र नेकपा एमालेले हरेक वर्ष विशेष कार्यक्रम आयोजना गरी मनाउँदै आएपनि यस वर्ष कोभिड–१९ संक्रमणको जोखिमका कारण कुनै औपचारिक कार्यक्रमको आयोजना भएन।
२०५१ सालमा प्रधानमन्त्री निर्वाचित भएका स्वर्गीय अधिकारी नेतृत्वको सरकारले ‘जेष्ठ नागरिकलाई भत्ता’, ‘आफ्नो गाउँ आफै बनाउँ’ लगायतका लोकप्रिय कार्यक्रमहरु शुरु गरेको थियो। अधिकारी नेतृत्वको सरकारले गरेका लोकप्रिय कार्यक्रमहरु अहिले पनि जनताले स्मरण गरिरहेका छन्।
वि.सं. १९७८ असार १५ गते काठमाडौंको लाजिम्पाटमा जन्मेका अधिकारी सरल, शालीन र सादगी जीवन विताउने नेताको रुपमा पनि चिनिन्छन्।
स्वर्गीय अधिकारीले स्थापित गरेका आदर्श, सिद्धान्त र मूल्य मान्यता अहिले पनि अनुकरणीय र सान्दर्भिक रहेको छ। पूर्वप्रधानमन्त्री अधिकारीको २०५६ वैशाख १३ गते निधन भएको थियो।

प्रतिक्रिया