नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन अझै संख्या नपुगेको बताएको छ।
आइतबार सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकपछि उपसभापति विमलिन्द्र निधिले सो कुरा बताएका हुन्।
बैठकमा त्यसबारे छलफल भएको उनले जानकारी दिए।
‘नेपाली कांग्रेस केन्द्रीय समितिले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने निर्णय गर्दै आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय पनि गरिसकेको छ,’ निधिले भने, ‘त्यही आधारमा सरकार बनाउन पहल त भइनै रहेको थियो। पहल गर्दाखेरी जुन संख्या पुग्नुपर्ने हो त्यो पुगिरहेको छैन।'
संख्याको ग्यारेन्टी नहुँदा त्यतिकै अविश्वासको प्रस्ताव दर्ता गर्नु बुद्दिमानी नहुने उनले बताए।
तर सरकार बनाउने सम्भावना अझै रहेको उनले बताए।
‘ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने सम्भावना टरेको छैन, छलफल भइरहेको छ,’ निधिले थपे।
उनका अनुसार संख्याको ग्यारेन्टी नभई अविश्वासको प्रस्ताव प्रक्रिया अगाडि नबढाउने सहमति भने बनेको छ।
‘जबसम्म संख्याको ग्यारेन्टी हुँदैन तबसम्म अविश्वासको प्रस्ताव राख्ने कुरै भएन,’ उपसभापति निधिले भने,‘अविश्वासको प्रस्ताव राखेर फेल भएपछि त फेरि एकवर्षसम्म राख्न पाइँदैन नी, आफै भड्खाडोमा फसिन्छ। थाहा हुँदा हुँदै, जान्दा जान्दै, पूर्णतयारी नगरीकन अविश्वासको प्रस्ताव राख्ने कुरा छैन।'

प्रतिक्रिया