नेकपा एमालेका नेता वामदेव गौतमले अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो कार्यशैलीप्रति आफ्नो असहमति रहेको बताएका छन्।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले शुक्रबार एमालेको नयाँ स्थायी कमिटी गठन गर्दै गौतमलाई पनि सदस्य बनाएका छन्।
त्यसलगत्तै शुक्रबार साँझ नेता गौतमको सचिवालयले गौतम एमालेको नवौं महाधिवेशनबाट निर्वाचित आधिकारिक उपाध्यक्ष भएको र पदाधिकारी खारेज गर्ने फागुन २८ को बैठक र निर्णय अवैधानिक भएको प्रतिक्रिया दिएको हो।
गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘क. वामदेव गौतम नेकपा (एमाले) को नवौं महाधिवेशनबाट निर्वाचित आधिकारिक उपाध्यक्ष हो। पदाधिकारी खारेज गर्ने फागुन २८ को बैठक र निर्णय अवैधानिक हो।’
अगाडि लेखिएको छ, ‘अध्यक्ष क. केपी ओली, वरिष्ठ नेता क. माधव नेपाल, झलनाथ खनालसँग वर्षौंदेखिको व्यक्तिगत घनिष्ठता कायमै छ। उहाँ अझै पनि एकता पक्षधर हो। पार्टी सञ्चालनसम्बन्धी क. केपीको पछिल्लो कार्यशैलीमा उहाँ (वामदेव गौतम) को सहमति छैन।’
वक्तव्यका साथमा नेता वामदेव गौतमको सचिवालयले राखेको तस्बिर।
सर्वाेच्च अदालतको फैसलाले माओवादी केन्द्रसँगको एकता भंग गर्दै एमाले पुनःस्थापना गरेपछि अध्यक्ष ओलीले गत फागुन २८ गते आफूनिकट केन्द्रीय सदस्यको मात्र बैठक राख्दै अबदेखि एमालेमा अध्यक्ष (आफू) र महासचिव (ईश्वर पोखरेल) बाहेक उपाध्यक्षलगायत अन्य सबै शीर्ष पद नरहेको निर्णय गरेका छन्। जसले गर्दा नेता गौतमको उपाध्यक्ष पद पनि निलम्बनमा परेको छ।
तर आज आयोजित एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकबाट गठित नयाँ स्थायी कमिटीमा भने ओलीले गौतमलाई पनि समेटेका हुन्। त्यसलगत्तै गौतमको सचिवालयबाट ओलीको कार्यशैलीप्रति असहमति रहेको प्रतिक्रिया आएको हो।
यी पनि :
ओलीले गठन गरे नयाँ स्थायी समिति, नेपाल पक्षलाई हटाइयो, वामदेव समेटिए
‘डिनर मिटिङ’ चल्दै थियो, ओलीसँग कुरा नमिलेपछि बीचमै बाहिरिए वामदेव गौतम

प्रतिक्रिया