प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा जारी विवाद समाधानका लागि माधव नेपालपछि वामदेव गौतमसँग गरेको वार्ता पनि असफल भएको छ।
बिहीबार अपराह्न मेरिएट होटलमा वरिष्ठ नेता नेपालसँग दोस्रोपटक गरेको वार्ता पनि निष्कर्षविहीन भएपछि ओलीले त्यही दिन बेलुका उपाध्यक्ष गौतमसँग गरेको ‘डिनर मिटिङ’ पनि बिनासहमति टुंगिएको हो।
माधव नेपालसँग कुरा नमिलेपछि प्रधानमन्त्री ओलीले आफ्नो सरकारी निवास (बालुवाटार) मै नेता गौतमसँग डिनरसहितको वार्ता आयोजना गरेका थिए। वार्तामा कानुनमन्त्री लीलानाथ श्रेष्ठ र एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई पनि सहभागी थिए।
भेटवार्तामा गौतमले ओलीसँग आफ्नो अटुट सम्बन्ध रहेको र रहिरहने बताएको भन्दै प्रमुख सचेतक भट्टराईले बिहीबार राति नै सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरेका थिए।
तर त्यसको भोलिपल्ट आज शुक्रबार बिहान नेता गौतमले ओलीसँग कुरा नमिलेको र डिनर मिटिङ चलिरहेकै बेला आफू बाहिरिएको जानकारी दिएका हुन्।
‘हिजो बेलुकी ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा कमरेड केपीसँग डिनर मिटिङ भयो। उहाँले पार्टी काममा आफूसँग फर्कन अनुरोध गर्नुभयो,’ आफ्ना प्रेस सल्लाहकार विश्वमणि सुवेदीमार्फत गौतमले भनेका छन्, ‘मैले गत फागुन २८ गते तपाईंले गर्नु भएको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरेँ। उहाँले ती निर्णय फिर्ता हुँदैनन् भन्नुभयो। त्यसो भए म तपाईंसँग आउन पनि सक्दिनँ भनेर जवाफ दिएँ।’
गौतमले अगाडि भनेका छन्, ‘डिनर चल्दै थियो, नमस्कार गरेर म बिदा भएँ।’
सर्वाेच्च अदालतको फैसलाबमोजिम एमाले पुनःस्थापना भएपछि अध्यक्ष ओलीले गत फागुन २८ गते आफूनिकट केन्द्रीय सदस्यको मात्र बैठक राखेर अबदेखि पार्टीमा अध्यक्ष (आफू) र महासचिव (ईश्वर पोखरेल) पदबाहेक अरू सबै सदस्य रहने निर्णय गरेपछि वामदेव गौतमको उपाध्यक्ष पद पनि निलम्बनमा परेको छ।
त्यस दिन ओलीले झलनाथ खनाल–माधव नेपाल पक्षका सबै नेताका जिम्मेवारी खोस्ने निर्णय मात्र गरेनन्, गृहमन्त्री रामबहादुर थापासहित आफ्नो समूहमा सामेल माओवादी केन्द्रका २३ नेतालाई एमालेको केन्द्रीय सदस्यसमेत बनाएका छन्।
जुन अवैधानिक भन्दै खनाल–नेपाल पक्ष अलग भएर पार्टीका समानान्तर गतिविधि गरिरहेको छ भने असन्तुष्ट गौतम भने दुवै समूहमा नलागी पार्टी एकता अभियानमा लागेका छन्। यहीबीच ओलीले गौतमसँग भेटेका हुन्।
सर्वाेच्च अदालतको फैसलाअनुसार नेकपा एमालेका केन्द्रदेखि तल्लो तहसम्मका कमिटी माओवादी केन्द्रसँग एकता हुनुअघि २०७५ जेठ २ अघिकै कायम हुनुपर्ने माधव नेपाल तथा वामदेव गौतमहरूको माग छ।
याे पनि : ‘मेरिएट वार्ता’ सफल हुँदैन भन्ने संकेत पहिल्यै दिएका थिए ओलीले
प्रतिक्रिया