नेकपा एमाले असन्तुष्ट पक्षकी नेत्री रामकुमारी झाँक्रीले कम्युनिस्ट आन्दोलन विसर्जन गर्नेविरुद्ध सशक्त संघर्षमा लाग्न कम्युनिस्ट नेता/कार्यकर्तालाई आह्वान गरेकी छन्।
एमालेभित्र अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच मतभिन्नता उत्कर्षमा पुगेका बेला नेत्री झाँक्रीले बिहीबार नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको शुभकामना दिँदै कम्युनिस्ट आन्दोलनको एकता र ध्रुवीकरणका पक्षमा दृढतासाथ लाग्न सम्बन्धित सबैमा अपिल गरेकी हुन्।
नेत्री झाँक्री नेपाल पक्षकी सक्रिय नेत्री हुन्।
नेत्री झाँक्रीले सामाजिक सञ्जालमार्फत आह्वान गरेकी छन्, ‘कम्युनिस्ट आन्दोलनलाई विसर्जन गर्ने, असैद्धान्तिक, विचारविहीन, अराजनितिक, अवसरवाद र रायमाझीपथको विरूद्धमा सशक्त वैचारिक र सांस्कृतिक संघर्ष गरौं।’
नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको शुभकामना दिँदै उनले अगाडि लेखेकी छन्, ‘कम्युनिस्ट आन्दोलनको एकता र ध्रुवीकरणको पक्षमा दृढतासाथ लागौं। नेपाल कम्युनिस्ट पार्टीको ७२औं स्थापना दिवसको अवसरमा हार्दिक शुभकामना !’
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीविरोधी गतिविधि गरेको आरोप लगाउँदै माधव नेपालसमेत स्पष्टीकरण मागेका २७ सांसदमा नेत्री झाँक्री पनि परेकी छन्।
यसबीच बुधबार साँझ र आज (बिहीबार) अपराह्न गरेर होटल मेरिएटमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच दुईपटक वार्ता भए पनि सहमति हुने छाँटकाँट देखिएको छैन।

प्रतिक्रिया