राजनीति


यसरी जुट्यो ओली–नेपाल भेटवार्ता

यसरी जुट्यो ओली–नेपाल भेटवार्ता

मणि दाहाल
बैशाख ८, २०७८ बुधबार १५:६,

सत्तारुढ नेकपा–एमालेभित्र अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच तीव्र शक्ति संघर्ष चर्किरहेका बेला बुधबार दुई शीर्ष नेताबीच नै भेटवार्ता भएको छ।

सर्वोच्च अदालतले नेकपा विघटन गरी एमाले ब्युँताएपछि पार्टी भित्रको ओली पक्ष र नेपाल नेतृत्वको समूहबीच तीक्तता झन् बढेपछि आपसमा छलफल तथा भेटघाट समेत बन्द थियो।

ओलीले नेपाल पक्षसँग समूहको रुपमा नभई व्यक्तिगत तहमा मात्र कुराकानी गर्ने भनी नेपाल पक्षका नेताहरुसँग एक्लाएक्लै मात्र भेट गरिरहेका थिए।

यहि सन्दर्भमा ओलीले बुधबार नै नेपाल पक्षका पार्टी सचिव योगेश भट्टराईलाई पनि भेट गरे।

यहि भेट नै ओली र नेपालबीच लामो समयपछिको भेट जुराउने आधार बन्यो।

KPOli MadhavNepal Marriott Baisakh77तस्बिर: प्रधानमन्त्रीकाे सचिवालय

एमाले एकता जसरी पनि जोगाउनुपर्ने भनी सार्वजनिक तथा व्यक्तिगतरुपमा पनि लविङ गरिरहेका भट्टराईसँग ओली पक्षका नेताहरु निरन्तर सम्पर्कमा थिए।

त्यसो त भट्टराईले ​दुवै पक्षका केहि नेताहरुसँग निरन्तर संवाद गरी मतभेद अन्त्यका लागि पहल पनि गरिरहेका थिए।

एक नेताका अनुसार यसैबीच विगत दुई–चार दिनयता ओली पक्षका नेताहरुले उनीसँग कुराकानी तथा संवाद बढाएका थिए।

‘सोहि क्रममा अध्यक्षतर्फका नेताहरुले उहाँलाई अध्यक्षसँग भेट्न आग्रह गर्नुभयो, जवाफमा योगेशले अध्यक्षसँग त म उहाँले बोलाएमा भेटिहाल्छु नि भन्ने प्रतिक्रिया दिनुभयो,’ पछिल्ला भेटवार्ताबारे जानकार एक नेताले नेपालखबरसँग भने।

त्यसपछि प्रधानमन्त्रीको सचिवालयबाट भट्टराईलाई भेटको समय मिलाएर फोन गरिएको हो।

सोहिअनुसार प्रधानमन्त्री ओलीसँग भट्टराईले बुधबार सवा १२ देखि सवा २ बजेसम्म भेटवार्ता गरेका थिए।

Oli Nepal Marriott exit 4

सोहि छलफलका क्रममा शीर्ष नेताहरु नै आपसमा बसेर छलफल गरी अहिलेको समस्या सुल्झाउनैपर्ने प्रसंग उठेको थियो।

त्यसपछि त्यहिँबाट प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपाललाई फोन गरेका थिए।

फोन गरेको केहि घण्टापछि दुई नेता मेरियट होटेलमा पुगी कुराकानी गरेका हुन्।

यो पनिः ओली–नेपाल भेटवार्ता सकियो, दुवै नेता हर्षित

ओली र नेपालबीच ६ बजेपछि सुरु भएको छलफल करिब पौने ८ बजे सकिएको थियो।

स्रोतका अनुसार भेटको वातावरण बनाउन विष्णु पौडेल, भट्टराई, घनश्याम भुसाल लगायतका नेताहरु सक्रिय रहेको भएपनि दुई नेताबीचको कुराकानी भने एक्लाएक्लै भएको थियो।

Oli Nepal Marriott exit 5

भेटका बेला सोहि होटेलमा रहेका प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार मोतिलाल दुगडका अनुसार कुराकानीपछि बाहिरिँदा दुवै नेता हर्षित मुद्रामा देखिन्थे।

त्यसआधारमा दुई शीर्ष नेताबीचको सो वार्ता सकारात्मक भएको सहजै अनुमान गर्न सकिने दुगडको भनाइ छ।

यो पनिः
मेरियटमा ओली र नेपालबीच वार्ता, होटल परिसरमा बढ्यो चहलपहल (फोटोफिचर)

एकअर्काबीच तीव्र संघर्ष भइरहेकै बेला ओली र नेपालबीच नै भेटवार्ता

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .