ad ad

राजनीति


माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि, समर्थन फिर्ताको निर्णय हुने निश्चित छैन

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि, समर्थन फिर्ताको निर्णय हुने निश्चित छैन

नेपालखबर
बैशाख ८, २०७८ बुधबार ५:५५,

मंगलबार सुरु नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज (बुधबार) पनि जारी रहने भएको छ।

बैठक पार्टीको केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा हिजैको समय दिउँसो १ बजे बस्ने माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले नेपालखबरलाई जानकारी दिए।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निश्चित भए पनि निर्णय भने अझै गरेको छैन। आजको बैठकमा पनि त्यो निर्णय हुन्छ भनेर अहिले भन्न नसकिने स्थायी कमिटी सदस्य पोखरेलले बैठक बस्नुअघि बुधबार बिहान नेपालखबरसँग बताए।

‘सरकारलाई हाम्रो समर्थन नै कहाँ छ र ,’ उनले भने, ‘लिखित औपचारिकता पूरा गर्न मात्र बाँकी हो, त्यो कुरा आज बैठकमा बसेर छलफल गरेपछि थाहा हुन्छ।’

हिजो मंगलबार पहिलो दिनको बैठकपछि माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिनेमा कुनै द्विविधा नरहेको खालि औपचारिक रूपमा लेखेर दिन बाँकी रहेको बताएका थिए। त्यो औपचारिकता सम्बन्धमा पनि चाँडै निर्णय हुने उनले बताएका थिए।

यस पटकको स्थायी कमिटी बैठकबाट माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय गर्छ भन्ने व्यापक अपेक्षा गरिएको छ।

तर तुरुन्तै समर्थन फिर्ताको निर्णय गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि प्रतिनिधि सभा विघटन गरेर मध्यावधि चुनावतर्फ देशलाई धकेल्ने आशंका माओवादी केन्द्रलाई छ। यसैकारण प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता र समर्थन फिर्ता सँगसँगै गरिनुपर्ने विश्लेषण माओवादी केन्द्रको स्थायी कमिटीमा भइरहेको एक नेताले बताएका छन्।

यसबाहेक बैठकमा पार्टीको विधान, संसदीय दलको विधानबारे छलफल भइरहेको छ। यस्तै प्रदेश इन्चार्जहरूको रिपोर्टिङ तथा नयाँ सत्ता समीकरणबारे पनि छलफल भइरहेको नेताहरूले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .