प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको नेकपा एमालेको दसौँ महाधिवेशन आयोजक समितिको बैठक माधवकुमार नेपाल पक्षले बहिस्कार गर्ने भएको छ।
महाधिवेशन आयोजक समिति गठन नै अवैधानिक भएको बताउँदै आएको नेपाल पक्षले बैठकमा सहभागी नहुने बताएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दिउँसो १ बजेबाट सुरु हुने बैठकमा राजनीतिक प्रतिवेदन, महाधिवेशनको तयारी, उपनिर्वाचनको तयारी, कार्यविभाजनसहित अन्य विषयहरुमा निर्णय हुने छ।
‘बैठकका लागि २ सय ६१ जना सदस्यहरुलाई एसएमएस तथा फोनमार्फत जानकारी गराएका छौँ,’ एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले भने।
‘कारबाहीमा पर्नुभएका चार जनाबाहेक अन्य सबै सदस्यहरुलाई बैठकको बारेमा एसएमएस तथा टेलिफोनमार्फत बैठकको एजेन्डा, समय तथा स्थानबारेमा जानकारी गराएका छौँ,’ रिजालले भने, ‘बैठकमा सबै नेताहरु सहभागी हुनुहुन्छ होला।’
तर, नेपाल पक्षका नेताहरुले सूचना आएको भएपनि आफ्नो माग पुरा नहुन्जेल अध्यक्ष ओलीले बोलाएको कुनै पनि बैठकमा सहभागी नहुने बताए।
नेता बेदुराम भुसालले महाधिवेशन आयोजक समितिको गठन नै अंवैधानिक भएकाले आफूहरु सहभागी नहुने बताए।
‘सूचना आएको छ, आयोजक समितिको बैठकमा सहभागी हुनका लागि। तर, यो आयोजक कमिटी नै पार्टीको विधान विपरीत छ,’ भुसालले भने, ‘यो बैठकमा हामी सहभागी हुने छैनौँ। पहिलेदेखि नै प्रष्ट विषय हो।’
ओलीले फागुन २८ गते आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको सुटुक्क बैठक राखेर माओवादीबाट एमालेमा आएका २३ जना नेतालाई थप गर्दै केन्द्रीय कमिटीे विस्तार गरेको थियो। नेपाल पक्षले त्यो विस्तारलाई विधानविपरीत भन्दै सो निर्णउय खारेजीको माग गरेको छ।
चैत ७ गते अर्को बैठक राख्दै अध्यक्ष ओलीले केन्द्रीय कमिटीलाई दसौँ महाधिवेशन आयोजक कमिटीमा परिणत गरेका छन्। जसमा अध्यक्ष र महासचिव मात्रै पदाधिकारी छन्।
सोमबारको बैठकमा नेपाल पक्षका कति नेताहरु सहभागी हुन्छन् भन्ने विषयमा चासोका साथ हेरिएको छ।
‘विस्तारै साथीहरुको बैठकमा सहभागिता बढ्दै जाने अपेक्षा लिएका छौँ,’ एमाले संसदीय दलका प्रमुख सचेतक समेत रहेका केन्द्रीय सदस्य विशाल भट्टराईले भने, ‘कति संख्यामा सहभागी हुनुहुन्छ भन्ने अहिले भन्न सकिँदैन तर विभिन्न तहमा कुराकानी चलिरहेको छ।’
तर नेपाल पक्षका केन्द्रीय सदस्य सुरेन्द्र मानन्धर भने सोमबार बैठक बहिस्कार हुने बताउँछन्।
‘हामी त्यो बैठकमा सहभागी हुन्नाँै। अन्य साथीहरु पनि नहुने भन्ने छ,’ मानन्धरले भने, ‘कोही पनि साथीहरु त्यसमा जानुहुन्न।’
केन्द्रीय कमिटीको बैठकको एक दिनअघि बेदुराम भुसाल र राजेन्द्र पाण्डे ८८ जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित आयोजक समित अवैधानिक भएको भन्दै निर्वाचन आयोग पुगेका छन्। उनीहरुले एमालेको आधिकारिक पक्ष आफूहरु भएको दाबी गरेका छन्। त्यसमा फागुन २९ र चैत ७ गते भएको भनिएको बैठकलाई मान्यता नदिन माग गरिएको छ।
प्रतिक्रिया