राष्ट्रिय सभा सदस्यबाट बर्खास्त भएसँगै गृहमन्त्री पद पनि गुमाएका रामबहादुर थापा ‘बादल’ले आजै पुनर्नियुक्ति पाउने भएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार थापालाई आजै साँझ ५ बजे गृहमन्त्रीका रूपमा पद तथा गोपनियताको शपथ गराउने कार्यक्रम तय गरिएको छ।
आफ्नो पार्टी परित्याग गरेर नेकपा एमाले (ओली समूह) मा प्रवेश गरेका कारण नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि उनको राष्ट्रिय सभा-सदस्य पद खारेज भएको हो।
राजनीतिक दलसम्बन्धी ऐनअनुसार आफू निर्वाचित पार्टी छाडेपछि सांसद पद पनि जाने प्रावधानअनुरूप पद खारेज गर्न माओवादी केन्द्रले सूचना गरेपछि संघीय संसदले उनलाई राष्ट्रिय सभाको सदस्य पदबाट हटाएको हो। योसँगै मन्त्री पद पनि स्वतः समाप्त हुने प्रावधान छ। तर सांसद नरहे पनि प्रधानमन्त्रीले ६ महिनासम्मका लागि मन्त्री पदमा भने पुनः नियुक्ति दिन सक्ने संवैधानिक व्यवस्था छ।
सोहीबमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीले थापालाई फेरि गृहमन्त्री पदमा पुनःनियुक्ति दिने भएका हुन्।
यो पनि : गृहमन्त्री थापाको पनि सांसद पद खारेज
Shares
प्रतिक्रिया