प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले प्रधानमन्त्रीको हस्ताक्षर दुरुपयोग गरी भारतीय गुप्तचर निकाय (रअ) का प्रमुखसँग सम्झौता गरेको भनेर केही अनलाइनले भ्रम फिँजाएको पाइएको बताएका छन्।
साथै उनले विदेश मामिलाजस्तो संवेदनशील विषयमा गरिने यस्ता खेलबाडप्रति सचेत रहन पनि सबैलाई आह्वान गरेका छन्।
‘भारतीय खुफिया एजेन्सीका प्रमुखसँगको सम्झौताका रूपमा सम्माननीय प्रधानमन्त्रीको हस्ताक्षरको दुरुपयोग गरी केही अनलाइनमा प्रकाशित भ्रमपूर्ण प्रचार निन्दनीय छ,’ बिहीबार राति सामाजिक सञ्जलमा डा. भट्टराईले लेखेका छन्, ‘विदेश मामिलाजस्तो संवेदनशिल विषयमा गरिने यस्ता खेलबाडप्रति सचेत हुन सबैमा आग्रह गर्दछु।’
एमालेका नेता विष्णु रिजालले पनि यस घटनाको विरोध गरेका छन्। प्रधानमन्त्री ओलीसँग रिस उठ्यो भन्दैमा विदेशी गुप्तचरसँग लिखित सम्झौता गरेको भन्दै नक्कली कागजात खडा गर्नु आपत्तिजनक भएको रिजालले बताएका छन्।
एमाले नेता विष्णु रिजाल
‘प्रमसँग रिस उठे आलोचना गर्ने अरू कैयौं विषय छन्। विदेशी गुप्तचरसँग लिखित सम्झौता गरेको भन्दै नक्कली कागजात खडा गरी प्रचार गर्नु वस्तुतः तिनै गुप्तचर र तिनकै देशको सेवा हुन्छ,’ नेता रिजालले पनि सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यति गम्भीर विषयमा आपत्तिजनक प्रचार गर्नुको अरू उद्देश्य त के होला र !’

प्रतिक्रिया