राजनीति


नेपाल पक्षका सांसद फकाउँदै ओली, भेटेर भनेः मलाई सहयोग गरिदिनुपर्‍यो

नेपाल पक्षका सांसद फकाउँदै ओली, भेटेर भनेः मलाई सहयोग गरिदिनुपर्‍यो

मणि दाहाल
बैशाख २, २०७८ बिहिबार १६:१९,

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झलनाथ खनाल–माधवकुमार नेपालनिकट सांसदहरुलाई छुट्टाछुट्टै भेटेर फकाउन थालेका छन्।

प्रधानमन्त्री ओली, महासचिव ईश्वर पोखरेल तथा अर्थमन्त्री विष्णु पौडेलले खनाल–नेपालको साथमा रहेका सांसदहरुलाई आफ्नो पक्षमा लाग्न आग्रह गरेका हुन्।

उनीहरुले विरोध खतिवडा, जीवनराम श्रेष्ठ, ध्रुवबहादुर शाही, राजबहादुर बुढासहितका सांसदहरुलाई भेटिसकेका छन्। यी सबै सांसद प्रत्यक्ष निर्वाचित हुन्।

सांसद खतिवडालाई प्रधानमन्त्री ओली आफैँले फोन गरेका थिए। खतिवडासँग अर्थमन्त्री पौडेलले संसद् भवन नयाँ बानेश्वरमा छलफल गरेका थिए।

‘संसद भवनमा अर्थमन्त्री पौडेलसँग भेट र कुराकानी भएको हो। उहाँले अहिले तात्तिएको बेला केही तनाव उत्पन्न भएपनि बिस्तारै मिल्दै जाने बताउनु भयो,’ खतिवडाले नेपालखबरसँग भने।

त्यसैगरी श्रेष्ठसँग महासचिव पोखरेलले सिंहदरबारस्थित कार्यालयमा चैत ३१ गते भेट गरेका थिए।

सांसद शाही र बुढासँग प्रधानमन्त्री ओलीले बिहीबार र बुधबार बालुवाटारमा आफैँले छलफल गरेका थिए। केन्द्रीय सदस्य तथा पाल्पाका सांसद सोमप्रसाद पाण्डेले ओलीसँग निरन्तर रुपमा छलफल गर्ने गरेका छन्। खतिवडा, श्रेष्ठ, शाही तथा बुढाले ओली पक्षसँग संवाद गरेको पुष्टि गरेका छन्।

‘भेटमा सहयोग गरिदिनु पर्‍यो भन्ने आग्रह थियो। पार्टी एकताको विषयमा छलफल भएको थियो,’ श्रेष्ठले भने, ‘हामीले पार्टी एकताकै पक्षमा रहेको र अहिलेको समस्या व्यक्तिगत मात्रै नभएर सामूहिक भएकाले त्यसैअनुसार समाधान गरे मिल्न नसक्ने अवस्था नभएको बतायौँ।’

प्रधानमन्त्री ओलीले शाही र बुढा दुवैसँग आफूलाई सहयोग गरिदिन आग्रह गरेका थिए।

‘अहिलेको समस्याको समाधान गर्ने शक्ति र अधिकार रहेकाले त्यसलाई समाधान गरेर जान आग्रह गरे,ँ’ बुढाले नेपालखबरसँग भने, ‘अध्यक्षले भेट्न बोलाउनु भएपछि भेट्न गएको हो।’

भेटपछि एक सांसदले प्रधानमन्त्री ओलीले व्यक्तिगत रुपमा डिल गरेर अहिलेको समस्याको समाधान गर्न खोजेको देखिएको बताए।

‘उहाँले सामूहिकभन्दा पनि व्यक्तिगत रुपमा डिल गरेर जाने मनस्थिति देखिन्छ,’ एक सांसदले भने, ‘तपाईं एउटा रुखको नेता बन्ने कि जंगलको भन्ने कुरा गर्नुभयो। कुरा सुन्दा आफूले चालेको कदमबाट पछि हट्ने कुनै संकेत भने देखिएन।’

यसअघि पनि प्रधानमन्त्री ओलीले एमालेभित्र समूहगत रुपमा कुनै छलफल नगर्ने, व्यक्तिगत रुपमा कुनै गुनासो भए त्यसलाई समाधान गरेर जाने बताएका थिए।

तर, खनाल–नेपालले सर्वोच्च अदालतको फैसलाले २०७५ जेठ २ गतेको अवस्थामा पुर्‍याएको भन्दै त्यस समयको पार्टी संरचनालाई ब्युँताउनु पर्ने माग राखेका छन्।

ओलीले फागुन २३ को सर्वोच्च अदालतको फैसलापछि फागुन २८ मा आफ्नो पक्षका मात्रै केन्द्रीय सदस्यहरुको बैठक बोलाएर २३ जना नेतालाई केन्द्रीय कमिटीका थप गरेका थिए। चैत ७ गते भएको केन्द्रीय कमिटीको बैठकले महाधिवेशन आयोजक समिति गठन गरेको थियो। यी सबै निर्णय खारेज हुनुपर्ने खनाल–नेपालको अडान छ।

प्रधानमन्त्री ओलीले भेटमा आफूले गरेको कामको बारेमा चर्चा गरेका थिए।

‘नाकाबान्दीदेखि अहिलेसम्म के के गरेँ भनेर भन्नु भयो। केही विषय ठिकै होला तर अहिले पार्टीभित्र देखिएको संकटलाई कसरी निकास दिने भन्ने बारेमा केही बताउनु भएन,’ ती संसादले भने, ‘उहाँले सहयोग गर्न आग्रह गर्नु भयो। मैले सबैलाई समेटेर लैजान अध्यक्षले भूमिका खोल्नु पर्ने बताएँ।’

प्रधानमन्त्री ओली एक्लै अघि बढ्न खोजेको निष्कर्षमा पुगेका खनाल–नेपाल समूहले देशभर नै पार्टीको समानान्तर कमिटी निर्माण गरेको छ। उनीहरुले बिहीबारसम्ममा ६७ वटा जिल्ला कमिटी घोषणा गरिसकेका छन्।

ओलीले भने नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डेलाई ६ महिना पार्टीबाट निलम्बन गरेका छन्। उनीहरुविरुद्ध पाटी विरोधी गतिविधिमा संलग्न रहेको आरोप लगाइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .