सत्तारुढ दल नेकपा एमालेका सांसद खगराज अधिकारीले अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताए पनि संसदीय समितिमा भने नेकपा हुन बाध्य भएको बताएका छन्।
बिहबार प्रतिनिधि सभा बैठकको सुरुमै विशेष समय लिएर बोल्दै सांसद अधिकारीले संसदीय समितिमा पार्टीको शक्तिका आधारमा जिम्मेवारी दिन सभामुखसँग आग्रह गरे।
उनले प्रतिनिधि सभाको पुनर्स्थापना र अदालतले एमाले र माओवादी केन्द्र ब्युँताएपछि संसद बैठकमा एमाले र माओवादीको सिट छुट्टाए पनि संसदीय समितिमा भने नेकपा नाम नै कायम रहेको बताए।
‘फागुन २३ गतेदेखि यता नेकपा एमाले हामी यहाँ छौं। माओवादी केन्द्र नजिकै छ,’ एमाले र माओवादीका सांसदहरू बसेको ठाउँतर्फ संकेत गर्दै उनले भने, ‘संसदभित्र सत्तापक्षको बसाइमा हामी छौं। तर समिति बैठकमा जाँदा हामी नेकपा हुन बाध्य छौं।’
उनले संसदीय समितिमा आफूहरु नेकपा हुन बाध्य भएको बताउँदै यसले संसदको क्रियाशीलतमा गम्भीर प्रभाव पर्ने बताए। यो कार्य कानुन, प्रतिनिधि सभा नियमावली र संविधान विपरीत भएको भन्दै उनले संसदमा एमाले हुने समितिमा नेकपा हुन नसक्ने बताए।
‘संसदीय नेकपा भएर जानुपर्ने अवस्था संविधान, कानुन, दलसम्बन्धी व्यवस्थाविपरीत छ। प्रतिनधिसभा नियमावलीविपरीत छ। संसद्ले अब नेकपा जान्दैन’, सांसद अधिकारीले भने, ‘बारम्बार संसदीय समितिमा हेरफेर गर्न आग्रह र अनुरोध पनि गर्यौं । मिनी संसद्हरूमा हामी नेकपा भएर बस्न सक्दैनौं।’
सांसद अधिकारीले आफूहरु संवैधानिक हुन चाहेको भन्दै असंवैधानिक काम गर्न कसैले पनि उक्साउन नहुने बताए।
‘संवैधानिक काम गरेर संवैधानिक हुन चाहन्छौं भन्दा पनि मौका पाइएन,’ उनले भने, ‘समितिमा दलको शक्तिको अनुपातमा प्रतिनिधित्व गर्दै आएका छौं।’
सांसद अधिकारीको धारणापछि सभामुख अग्निप्रसाद सापकोटाले यसबारे कार्यव्यवस्था समितिमा छलफल भइसकेको र नाम प्राप्त भएपछि समितिको हेरफेर हुने बताएका थिए।
Shares

प्रतिक्रिया