राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भ्रष्टाचार, धर्मपरिवर्तन र सर्वसत्तावादलाई सधैँका लागि अन्त्य गर्नको निमित्त जनताको मन जितेर राप्रपा अघि बढ्नुपर्ने बताएका छन्।
राप्रपा मकवानपुरद्वारा बुधबार हेटौंडामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राष्ट्रियता, प्रजातन्त्र र सनातन धर्म संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्दै सबल र समृद्ध नेपाल निर्माणको निम्ति अबको विकल्प राप्रपा भएको समेत दाबी गरे।
कांग्रेस कम्युनिस्टले लिएको मार्गचित्र गलत र त्रुटिपूर्ण भएको भन्दै थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताले मुकुकको हित नगर्ने समेत ठोकुवा गरे।
मुलुकको स्वाधीनता प्रमुख विषय भएको भन्दै उनले गौरवशाली इतिहासलाई निमिट्यान्न पारेर नयाँ भाष्य सिर्जना गर्ने दुष्प्रयास सफल हुन दिन नहुनेमा जोड दिए।
सत्ता, शक्तिको निमित्त भएको लुछाचुढीले मुलुक अन्यौल अनिश्चिततातर्फ धकेलिएको भन्दै थापाले ताजा जनादेशमात्र अबको बिकल्प भएको बताए। पार्टीको महाधिवेशन, आगामी निर्वाचन, संगठन निर्माण र सुदृढीकरण अबको प्रमुख कार्यभार भएको भन्दै थापाले प्रशिक्षण कार्यक्रमलाई सघन रुपमा वडा तहसम्म लैजान आग्रह गरे।
कार्यक्रममा नव निर्वाचित वडा तहदेखि जिल्ला कार्यसमितिका पदाधिकारी हरुको सहभागिता रहेको जिल्ला अध्यक्ष गुरुप्रसाद सापकोटाले जानकारी दिए।

प्रतिक्रिया