उक्त भेटमा चीनले मानवअधिकार उल्लंघन गरेको विषय, ताइवान तथा उत्तर कोरियाको विषय केन्द्रमा रहने साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
जापान र अमेरिका क्वाडमा आवद्ध राष्ट्रहरु हुन्। क्वाडमा अमेरिका, जापान, अस्ट्रेलिया र भारत आवद्ध छन्। क्वाडलाई चीनले भने आफूविरुद्धको मोर्चाको रुपमा व्याख्या गर्दै आएको छ।
जापानमा क्वाडको हालै सम्पन्न पहिलो सम्मेलनमा यी सबै राष्ट्रले चीनको खतराविरुद्ध एक भएर उभिने विषयमा छलफल गरेका थिए। उनीहरुले खुला इन्डो प्यासिफिक क्षेत्रको वकालत गर्दै चीनले चुनौती दिएमा सबैले मिलेर सामना गर्ने सहमति गरेका थिए।
यतिबेला जापानी प्रधानमन्त्री सुगा आफैं अमेरिका भ्रमणमा जाने भएका हुन्।
चीनले सिनजियाङका मुस्लिमहरुमाथि दमन गरेको विषयमा विश्वभरबाट आलोचना भइरहेको छ। पश्चिमा राष्ट्रहरुको प्रतिवेदनमा चीनले उनीहरुको श्रम शोषण गरेको र मुस्लिम जनसंख्यालाई घटाउन नियोजित षड्यन्त्र रचेको उल्लेख छ।
तर चीनले भने यी आरोपहरु गलत भएको बताउँदै आएको छ। चीनलाई मानवअधिकार उल्लंघनको विषयमा गम्भीर बन्न अमेरिकाले सुरुवातदेखि दबाब दिँदै आएको छ।
यस्तै यतिबेला चीनले आफ्नो भूमि भएको बताउने ताइवानको हवाई क्षेत्रमा दैनिक आफ्नो हवाई सेनाहरु पठाउने गरेको छ। अहिले ताइवानले अमेरिकाबाट हतियारहरु खरिद गर्न थालेको छ।
अमेरिकामा हुने दुई देशका शीर्ष नेताहरुको छलफलमा ताइवानको सुरक्षाको विषयमा पनि छलफल हुने बतााइएको छ। ताइवान आफ्नो जमिन भएकाले यस विषयमा छलफल गरिनु अथवा यो क्षेत्रमा चीनको अनुमति बिना कारोबार गरिनुलाई चीनले अवैधानिक कार्य हुने बताउँदै आएको छ।
अमेरिका र जापानले उत्तर कोरियालाई क्षेप्यास्त्र निशस्त्रीकरणको सम्झौतालाई कार्यान्वयन गर्न दबाब दिने विषयमा पनि छलफल गर्नेछन्।

प्रतिक्रिया