नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले दुई महिने ‘संगठन निर्माण र सुदृढीकरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ।
शनिबार कलंकीको मेगा पार्टी प्यालेसमा बसेको नेपाल खनाल पक्षको स्थायी समिति बैठकले ‘नेकपा एमालेको एकतालाई जोगाऔं,कम्युनिस्ट आन्दोलनको रक्षा गरौं’ भन्ने मूल नाराका साथ दुई महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिए।
सचिव भट्टराईले दुई महिनाको अवधिमा २०७५ जेठ २ गतेसम्म कायम रहेका कमिटीहरूको पुनर्गठन, पुनःसञ्चालन, बैठक, भेला र प्रशिक्षण, छलफल लगायतका कार्यक्रम सञ्चालन गर्ने बताए।
‘आगामी दुई महिनाका लागि पार्टी संगठन निर्माण र सुदृढीकरण लागि तल्लो तहसम्म जाने निर्णय गरेका छौँ’, सचिव भट्टराईले भने।
त्यस्तै बैठकले सबै जनवर्गीय संगठनहरुलाई क्रियाशील बनाउने र आवश्यक परे पुनर्गठन गर्ने निर्णय समेत गरेको उनले जानकारी दिए।
नेपाल–खनाल पक्षले पार्टी स्थापना दिवसको अवसर पारेर वैशाख ९ गते काठमाडौंमा, मनमोहन अधिकारी दिवसमा विराटनगर र मदन भण्डारी र जीवराज आश्रितको समृति दिवसका अवसरमा चितवनमा राष्ट्रिय स्तरको भव्य कार्यक्रम गर्ने समेत निर्णय गरेको छ।
त्यस्तै बैठकले फागुन २३ गते सर्वोच्च अदालतको फैसला कार्यान्वयन गरेर अगाडि बढ्न र सांगठनिक संरचनालाई २०७५ जेठ २ गतेको अवस्थामा फकाउन आग्रह गर्ने निर्णय गरेको उनले बताए। उनले चार नेतामाथि भएको कारबाहीलाई आफूहरुले ठूलो नमानेको बताए।
‘अदालतको निर्णयअनुसार ०७५ जेठ २ गतेको अवस्थामा फर्कन अध्यक्षलाई आह्वान गरेका छौँ’ उनले भने, ‘कारबाहीलाई ठूलो कुरा मानेका छैनौँ। जेल नेल, कारबाही र निष्कासनले हामीलाई छुँदैन।’

प्रतिक्रिया