बागलुङमा होली खेल्ने क्रममा दुई जनाको ज्यान जाने गरी भएको झडपमा संलग्न रहेको आशंकामा ६ जनालाई पक्राउ गरेको छ।
प्रहरीले मंगलबार घटनामा संलग्न रहेको आशंकामा ५/६ जनलाई पक्राउ गरेको र अहिले उनीहरुसँग सोधपुछको काम भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता डीएसपी इक्वाल हवारीले बताए।
‘अहिले ५/६ जनालाई पक्राउ गरेर सोधपुछ गर्ने काम भइरहेको छ’, नेपालखबरसँग कुरा गर्दै डीएपी हवारीले भने, ‘यसबारे हामी सबै विवरण भोलिसम्ममा सार्वजनिक गर्छौँ।’
उनले सोधपछका लागि अन्य केहीलाई समेत पक्राउको तयारी भइरहेको जानकारी दिए। उनले सामूहिक घटना भएको हुँदा पक्राउ परेका व्यक्तिहरुको संलग्नता र दोषीको पहिचानबारे सोधपुछ भइरहेको बताए।
उनले घटना अनुसन्धानका क्रममा रहेका कारण पक्राउ परेकाहरुको नाम सार्वजनिक नगरिएको बताए।
‘उनीहरुको संलग्नता छ/छैन भन्नेबारे अनुसन्धान भइरहेका कारण अहिले पक्राउ पर्नेहरुको परिचय खुलाइएको छैन’, डीएसपी हवारीले भने।
उनले अहिले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयका एसपी कृष्णबहादुर पल्लीमगर नेतृत्वको टोली घटनास्थलमै खटिएको जानकारी दिए।
आइतबार होली खेल्ने क्रममा निसिखोला गाउँपालिका ७ राजपुत र बडिगाड गाउँपालिका १० दोर्लिङका समूहबीच भएको झडपमा राजपुतका ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक नेपालीको ज्यान गएको थियो। ज्यान गुमाउने कुँवर कांग्रेसका जिल्ला सदस्य र नेपाली सक्रिय सदस्य हुन्।
गुल्मी, प्युठान र बाग्लुङको सीमानास्थित बल्दे चौरमा हरेक वर्ष होलीका दिन मेला लाग्ने गरेको छ। बडिगार्डकी एक युवतीलाई रंग दल्नेक्रममा दुई समूहबीच विवाद सुरु भएको थियो।

प्रतिक्रिया