जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरुले निरन्तर रुपमा माओवादी केन्द्र र त्यसका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गर्दै आएको बताएका छन्।
शनिबार बृहत नागरिक आन्दोलन नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा गरेको ‘नागरिकको प्रश्न दलहरुको जवाफ’ विषयक अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष ठकुरले प्रचण्डले पनि मधेस र मधेसी जनताको माग पूरा नगरेको आरोप लगाए।
उनले ओली सरकारमा भएका कारण आफूहरुले अहिले ओलीसँग वार्ता गरिरहेको भए पनि प्रचण्डले ओली सरकारलाई समर्थन गरेको बताए। उनले सरकारमै ओली भएका कारण उनीसँग वार्ता भइरहेको बताएका हुन्।
‘ओलीलाई समर्थन तपाईंहरु (प्रचण्ड)ले गर्नुभएको छ, आरोप हामीमाथि?’, प्रचण्डसँग ठाकुरले भने।
उनले आफूहरुले मधेसी जनताका माग सडकबाट उठाए पनि सुनुवाई नभएको बताए।
उनले मधेसी दल र जनतालाई ठूला दहरुले संकटको बेला मात्रै सम्झने गरेको बताए। उनले भने, ‘मुलुकमा संकट आउँदा मात्रै हाम्रो जरुरत पर्छ। अरुबेला हाम्रो खोजी हुँदैन।’
अध्यक्ष ठाकुरले प्रधानमन्त्री ओलीले आफ्ना माग सम्बोधन गर्ने बचन दिएको बताए। उनले लिखित रुपमा सम्झौता भएपछि मात्रै आफूले विश्वस गर्ने बताए। ‘प्रधानमन्त्रीले हाम्रो माग पूरा गर्छु भन्नु भएको छ’, अध्यक्ष ठाकुरले भने, ‘अहिलेसम्म राजनीति आन्दोलनबाटै सबै कुरो भएको हो। हाम्रो विषयमा त कसैले पनि सम्बोधन गर्न चाहेको छैन।’
उनले अहिले पनि आफूहरुले प्रधानमन्त्रीलाई समर्थन गरिनसकेको बताए। हामीले प्रधानमन्त्रीलाई समर्थन गरेका छैनौँ, विरोध पनि गरेका छैनौँ।’

प्रतिक्रिया