राजनीति


सेनाको सिसं २७ कमाण्ड तथा स्टाफ तालिममा सेनानी समिर श्रेष्ठ सर्वोत्कृष्ट

सेनाको सिसं २७ कमाण्ड तथा स्टाफ तालिममा सेनानी समिर श्रेष्ठ सर्वोत्कृष्ट

नेपालखबर
चैत १३, २०७७ शुक्रबार १५:२८,

शिवपुरीस्थित नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन भएको सिसं २७ कमाण्ड तथा स्टाफ तालिमको दीक्षान्त समारोह सम्पन्न भएको छ। शुक्रबार प्रधान सेनापति पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्‍न भएको हो।

तालिममा नेपाली सेनाका ४ जना महिलासहित ६० जना अधिकृतहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका तर्फबाट १-१ गरी ३ जना तथा मित्रराष्ट्र बंगलादेश, नाईजेरिया, पाकिस्तान, श्रीलंका, संयुक्त राज्य अमेरिका र बेलायतबाट १-१ जना गरी ६ जना विदेशीसहित जम्मा ६९ जना शिक्षार्थीहरुले सो तालिम सफलतापूर्वक सम्पन्‍न गरी आज दीक्षित भएका छन्।

सि.सं. १७ (सन् २०१०) बाट विदेशी शिक्षार्थीहरु सहभागी गराईएको उक्त तालिममा हालसम्म विभिन्‍न देशका ८९ जना विदेशी शिक्षार्थीहरु दीक्षित भईसकेका छन्।

तालिमको मास्टर्स इन स्ट्राटेजिक स्टडिज (एमएसएस) र सोही विषयको सोधपत्र (थेसिस वर्क) अर्थात् कमाण्डर पेपर्स तर्फ सेनानी भूमिराज ओझा प्रथम तथा समग्र तालिममा सेनानी समिर श्रेष्ठ सर्वोत्कृष्ट शिक्षार्थी हुन सफल भएका छन्। तालिममा सर्वोत्कृष्ट हुन सफल शिक्षार्थी सेनानी श्रेष्ठलाई प्रधान सेनापति थापाले ‘सर्वोत्कृष्ट शिक्षार्थी पुरस्कार’ प्रदान गर्नुको साथै दीक्षित भएका सबै शिक्षार्थी अधिकृतहरुलाई ‘पास्ड स्टाफ कलेज (पीएससी)’ प्रमाण–पत्र वितरण गरेका थिए।

सो अवसरमा उनले उक्त कलेजबाट वार्षिक रुपमा प्रकाशन गरिने ‘दि शिवपुरी’ जर्नल २२ औं संस्करणको विमोचन समेत गरेका थिए। सोही क्रममा ‘एमएसएस प्रोग्राम’ तर्फ प्रथम भएका शिक्षार्थीलाई त्रिभुवन विश्व विद्यालयका उपकूलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाद्वारा प्रमाण पत्र र ‘कमाण्डेन्डस पेपर’ तर्फ प्रथम भएका शिक्षार्थीलाई कलेजका शिक्षाधिकृत उपरथी हिरालाल जोशीले सैनिक कमाण्ड तथा स्टाफ कलेजको प्रतिक तथा नगद पुरस्कार प्रदान गरेका थिए।

सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाधिकृत उपरथी जोशीबाट स्वागत तथा त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाको शुभकामना मन्तब्य सहित शुरु भएको सो दिक्षान्त समारोहमा दीक्षित भएका अधिकृतहरुलाई सम्बोधन गर्दै प्रधान सेनापति थापाले सहभागी सबै शिक्षार्थीहरुको लागि उक्त तालिम कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरेका थिए।

सम्बोधनकै क्रममा उनले भावी नेतृत्वहरुले सांगठनिक विचार, नवीनता र दृढ संकल्पको माध्यमबाट परिवर्तनलाई आत्मसात एवं संस्थीकरण गर्दै अगाडी बढन आवश्यक रहेको बताए।

कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका उपकुलपति, बलाधिकृत रथी, त्रिवि मानविकी समाजशास्त्र संकायका डिन र पदाधिकारीहरु, अन्य सुरक्षा निकायका प्रमुखहरु, कलेजका पूर्व शिक्षाधिकृतहरु, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु र शिक्षार्थी अधिकृतहरुका परिवारजनको उपस्थिती रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad