काठमाडौंको दक्षिणकाली नगरपालिका–१, चाल्नाखेलमा नजिकै विषको बट्टासहित २ विद्यार्थी मृत भेटिएको घटना रहस्यमय देखिएको छ।
त्रिवि शिक्षण अस्पताललाई उद्धृत गर्दै प्रहरीले दिएको जानकारीअनुसार पोस्टमार्टम गर्दा एउटाको मात्रै पेटमा विष र अर्कोको टाउकोमा चोट देखिएको हो।
अघिल्लो शुक्रबार चाल्नाखेल जंगलमा नुवाकोट छापाका १६ वर्षीय अर्जुन खड्का र काभ्र भुम्लुका १७ वर्षीय मंगल तामाङ मृत भेटिएका थिए भने घटनास्थलनजिकै सेलफस नामको विषको बट्टा फेला परेको थियो। उनीहरूले त्यही विष खाएको अनुमान गरिएको थियो।
तर पोस्टमार्टम क्रममा खड्काको पेटमा मात्र विष देखिएको हो। उनको शरीरमा कतै चोट देखिएन। तर तामाङको पेटमा भने विष नदेखिएको र टाउकोको पछाडि चोट देखिएको हो।
‘उनले विष थोरै खाएका कारण नदेखिएको पनि हुन सक्छ र टाउकोको चोट पनि छटपाटाउने क्रममा ठोक्किएर लागेको हुन सक्छ,’ पोस्टमार्टममा संलग्न चिकित्सकले भनेको कुरा प्रहरी स्रोतले सुनायो।
एकै ठाउँमा मृत भेटिएका दुईमध्ये एकमा विष र अर्कामा चोट मात्र देखिएकाले घटना रहस्यमय भएको हो।
थप तथ्य पत्ता लगाउन प्रहरीले मृतकको पेटमा भएको वस्तु भिसेरा परीक्षणका लागि पठाएको छ। त्यसको रिपोर्ट आएपछि थप प्रस्ट हुने काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी रमेशकुमार बस्नेतले बताए।
यही चैत ५ गतेदेखि हराइरहेका उनीहरू भोलिपल्ट चाल्नाखेलस्थित जंगलमा मृत फेला परेका थिए। उनीहरू लागुऔषध प्रयोगकर्ता रहेको परिवारले प्रहरीसँग बताएका छन्।
दुवै जना बाङ्गेमुडामा तर फरक–फरक डेरामा बस्थे। अर्जुन असनस्थित टेउडा स्कुल र मंगल क्षेत्रपाटीस्थित जीपी स्कुलमा कक्षा १० मा पढ्थे।

प्रतिक्रिया