नेकपा(एमाले) का नेता योगेश भट्टराईले पार्टी कमिटीहरु २०७५ साल जेठ २ गते अघिको पूर्ववत्ः अवस्थामा फर्काउनुपर्ने बताएका छन्।
शुक्रबार बसेको नेकपा (एमाले) संसदीय दलको बैठकमा आफूले पार्टीलाई एकताबद्ध बनाउनका निम्ति प्रधानमन्त्री केपी ओलीले पहलकदमी लिनुपर्ने धारणा राखेको बताए।
उनले भने, ‘फागुन २३ गतेको सर्वोच्च अदालतको निर्णयले हामीलाई पूर्ववत् पार्टीमा फर्काएको अवस्थामा पार्टीको संसदीय दल जसरी पूर्ववत् अवस्थामा अगाडि बढ्यो त्यसै गरीकन पार्टी केन्द्रीय कमिटी र पार्टी मातहतका सम्पूर्ण कमिटीहरु पनि २०७५ जेठ २ गतेको अवस्थामा फर्कौं र त्यहाँबाट नयाँ ढंगले पार्टीलाई एकतावद्ध बनाएर लैजाऔं यसमा मुलुकको प्रधानमन्त्री हुनुको नाताले र यो पार्टीको अध्यक्ष हुनुको नाताले तपाईले पहलकदमी लिनुहोस्। हिजोका कतिपय तितामिठा कुराहरुलाई विर्सौं । उत्तेजित भएर होइन संयम र धैर्यताका साथ अगाडि बढ्नु पर्छ। किनभने परिस्थिति निकै खतरा छ र निकै चुनौतिपूर्ण छ।’
उनले मुलुकले एमाले र सिंगो वामन्थीहरुको एकता खोजेको बताउँदै प्रधानमन्त्री सकारात्मक रहेको आफूले पाएको बताए।
‘यो मुलुकले नेकपा एमालेको एकता खोजेको छ सिंगो बामपन्थीहरुको एकता खोजेको छ, सरकारको स्थायित्व खोजेको छ र जनमतको कदर गर्ने कुरा पनि खोजेको छ। त्यसकारण सर्वोच्च अदालतले जुन प्रतिनिधि सभाको पुनस्थापना गरेर मुलुकमा एउटा लोकतन्त्र र संविधानको रक्षा गरेको छ अब हामीले राजनीतिक स्थायित्व दिउँ, पार्टीको एकतालाई सुदृढ गर्रौं, जनताको अपेक्षालाई पुरा गरौं भन्ने कुरा हामीले प्रधानमन्त्री समक्ष राखेका छौं’ उनले भने, ‘प्रधानमन्त्रीजीले त्यसलाई गम्भिरताका साथ लिनुभएको छ। उहाँले आजलाई एउटा नयाँ घटनाको रुपमा पनि चित्रित गर्नुभयो । आज एउटा नयाँ घटना घट्यो अस्ति भाग लिन नआउनुभएको साथीहरुपनि आउनुभयो यसले एउटा नयाँ परिस्थिति निर्माण गरेको छ म सँधै खुल्ला छु छलफल गरौं भन्नेकुरा गर्नुभएको छ।’

प्रतिक्रिया