नेकपा एमालेका नेता भीम रावलले देशको भूभाग मिचिइरहँदा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले चासो नदिएको आरोप लगाएका छन्।
दार्चुलामा विदेशीले नेपाल आमाको छातीमा कुल्चिरहँदा प्रधानमन्त्री ओली भने बालुवाटारमा सत्ता र कुर्सीको खेलमा मस्त रहेको नेता रावलको आरोप छ।
नेता रावलले भनेका छन्, ‘दार्चुलाको महाकाली नदी किनारमा नेपाल आमाको छातीमा विदेशी पाइलाले कुल्चिरहेछ, प्रम केपी ओली बालुवाटारमा पदको खेल र झेलमा मग्न हुनुहुन्छ।’
देशको भूभाग कब्जा गरोस् वा अतिक्रमण गरोस्, प्रधानमन्त्री ओलीमा रहस्यमय मौनता देखिएको नेता रावलको टिप्पणी छ।
मंगलबार राति रावलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सत्ता र कुर्सीका सामु प्रम केपी ओलीका लागि देशको भूभाग विदेशीले कब्जा गरोस् वा अतिक्रमण केही चासोको विषय नरहेको झैं देखियो। रहस्यमय मौनता !’
एमाले उपाध्यक्ष रावल पहिलेदेखि प्रधानमन्त्री ओलीका कडा आलोचक हुन्। नेकपा हुँदा प्रचण्ड समूहमा सामेल रावल सर्वाेच्च अदालतले पुरानै पार्टी एमाले पु्नर्स्थापना गरिदिएपछि अहिले नेपाल–खनाल समूहमा छन्।
अध्यक्ष ओलीले एमाले पुनर्स्थापना हुनासाथ गत फागुन २८ गते आफूनिकट केन्द्रीय सदस्यको मात्र बैठक राखेर अबदेखि पार्टीमा अध्यक्ष (आफू) र महासचिव (ईश्वर पोखरेल) बाहेक बाँकी सबै पद सदस्य मात्र रहने निर्णय गरेपछि रावलको उपाध्यक्ष पद पनि निलम्बनमा परेको छ। यसैकारण रावलसहित नेपाल–खनाल पक्षका नेता अहिले ओलीको तीव्र विरोध गरिरहेका छन्। छुट्टै भेला/बैठक गरिरहेका छन्।
सोही आरोपमा ओली पक्षले वरिष्ठ नेता माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसालसँगै रावललाई पनि स्पष्टीकरण माग्दै पत्र पठाएको छ। रावलले पत्र बुझ्न अस्वीकार गरेपछि उनको घरको लेटरबक्समा पत्र छाडिएको बताइएको छ।

प्रतिक्रिया