राजनीति


ऊर्जा व्यापारका लागि त्रिदेशीय सहयोग सुदृढीकरण गर्न राष्ट्रपति भण्डारीको आग्रह

ऊर्जा व्यापारका लागि त्रिदेशीय सहयोग सुदृढीकरण गर्न राष्ट्रपति भण्डारीको आग्रह

प्रकाश सिलवाल
चैत ९, २०७७ सोमबार १५:१३,

बंगलादेशको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले ऊर्जा व्यापारका लागि नेपाल, बंगलादेश र भारतबीचको त्रिपक्षीय सहयोगलाई सुदृढ पार्नु आवश्यक भएको बताएकी छन्।

बंगलादेशका राष्ट्रपिता बंगबन्धु शेख मुजिबुर रहमानको जन्मशतवार्षिकीका अवसरमा ढाकास्थित ‘नेशनल परेड स्क्वायर’मा आयोजित ‘नेपाल–बंगलादेश सम्बन्ध र बंगबन्धुको जन्म शतवार्षिकी’ विषयमा विशिष्ट अतिथिका रुपमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले विकासको आवश्यकता परिपूर्ति गर्न नेपालको जलविद्युत् र बंगलादेशको प्राकृतिक ग्यास महत्वपूर्ण साधन बन्ने सक्ने बताइन्।

दुवै देशले यसअघि नै ऊर्जा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेकाले व्यापार, पारवहन, ऊर्जा, सम्पर्क सञ्जाल, पर्यटन, शिक्षा, संस्कृति एवं जनस्तरको सम्बन्ध अभिवृद्धि गरी आपसी सहकार्य र सहयोगलाई विस्तार गर्न राष्ट्रपतिले आह्वान गरिन्।

राष्ट्रपति भण्डारीले व्यापार अड्चनको निवारण, पूर्वाधारको विकास एवं सहज बजार पहुँचले व्यापार सम्बन्धलाई उल्लेख्य रुपमा बढाउन सक्ने जनाउँदै दुवै देशलाई लाभदायी हुने गरी व्यापार घाटा न्यूनीकरण गर्दै लैजानुपर्नेमा जोड दिइन्।

‘बहुपक्षीय मञ्चहरुमा आपसी समर्थन र सहयोगका माध्यमबाट हाम्रा दुई मुलुकका समान हितहरु प्रवद्र्धन गर्नका लागि पनि हामी उत्तिकै सक्रियतापूर्वक लागिरहेका छौँ’, राष्ट्रपति भण्डारीले भनिन्, ‘सम्पर्क सञ्जाल विस्तार गर्न काठमाडौं–ढाका खण्डमा उडानहरु थप्न र बंगलादेशको शइदपुर र नेपालको विराटनगरजस्ता ठूला शहरबीच हवाई सम्पर्क स्थापना गर्न सकिन्छ।’

भारत र बंगलादेशसँग नेपालका नदीहरुको आबद्धताबाट जलमार्ग विकास गर्न सहयोग पुग्ने जनाउँदै उनले सडकमार्गको स्तरोन्नति र रेलमार्गको विकास एवं तिनको आबद्धताले पनि यस प्रक्रियामा अर्थपूर्ण योगदान दिन सक्ने बताइन्। उनले बंगलादेशको रोहनपुरमा सामान भण्डारण गरी रेल पारवहनद्वारा द्विपक्षीय व्यापार प्रवर्द्धन गर्ने समझदारी प्रक्रिया अगाडि बढेकामा खुशी व्यक्त गरिन्।

दुवै देशको प्राकृतिक सौन्दर्य, ऐतिहासिक तथा पुरातात्विक क्षेत्र एवं सांस्कृतिक सम्पदाको सम्पन्नताका कारण नेपाल र बंगलादेशले पर्यटन क्षेत्रमा आपसी सहयोग विस्तार गरी लाभ लिन सक्ने बताउँदै राष्ट्रपति भण्डारीले बंगलादेशी पर्यटकले नेपालका हिमाल, हराभरा उपत्यका, अपार जैविक विविधता र महत्वपूर्ण ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक क्षेत्रको भ्रमणबाट लाभ लिन सक्ने जनाइन्। नेपाली पर्यटकले बङ्गलादेशका सुन्दर समुद्री तट, सदाबहार समुद्री वनस्पतिका सुन्दर वन र सांस्कृतिक एवं ऐतिहासिक क्षेत्रको भ्रमण गर्न सक्ने उनले बताइन्।

राष्ट्रपति भण्डारीले बंगबन्धुको ‘सोनार बंगाल’ को परिकल्पनानुसार बंगलादेशले द्रुत गतिका विकास गरिरहेको थापा पाउँदा खुशी व्यक्त गर्दै नेपाल सरकारले पनि आफ्ना सम्पूर्ण प्रयास ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न केन्द्रित गरिरहेको र नेपालले छिट्टै मध्यम आय भएको मुलुकका रुपमा आफूलाई स्तरोन्नति गराउने अवगत गराइन्। उनले लामो समयदेखि नेपाल र बंगलादेशबीच निकट, मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्ध रहिआएको पनि उल्लेख गरिन्।

कार्यक्रममा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले राष्ट्रपति बंगबन्धुको जन्मशतवार्षिकीको गत वर्ष भिडिओ सन्देशका माध्यमबाट उद्घाटन समारोहलाई शुभकामना दिएकामा राष्ट्रपति भण्डारीप्रति आभार व्यक्त गर्दै बंगलादेश स्वतन्त्रताको आन्दोलनमा नेपाली नेता र जनताले नैतिक सहयोग तथा हतियारसमेत दिएको स्मरण गरे।

बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले नेपाल र बंगलादेश दुवैले मध्यम आय भएको मुलुकमा एकैसाथ स्तरोन्नति गर्न लागेकामा खुशी व्यक्त गर्दै आफ्नो देशको स्वतन्त्रताको आन्दोलनमा भएको नेपालको सद्भावप्रति धन्यवाद व्यक्त गरिन्। बंगलादेश स्वतन्त्र मुलुक भएपछि मान्यता दिनेमध्ये नेपाल एक अग्रणी मुलुक भएकाले पनि आफूहरु नेपालप्रति सधैँ ऋणी रहेको उनको भनाइ थियो।

समारोहमा बंगाली र नेपाली कलाकार टोलीबाट सांस्कृतिक प्रस्तुति गरिएको थियो। कार्यक्रममा राष्ट्रपति भण्डारीकी सुपुत्री उषाकिरण भण्डारी, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, बंगलादेशका विदेशमन्त्री डा. एके अब्दुल मोमेन, बंगलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रलगायत भ्रमण दलका सदस्यको सहभागिता थियो।

यसअघि राष्ट्रपति भण्डारीसँग ढाकास्थित होटेल कन्टिनेन्टलमा बंगलादेशका प्रधानमन्त्री हसिनाले शिष्टाचार भेटवार्ता गरकी थिइन्। आजै यहाँका विदेशमन्त्री डा अब्दुलले राष्ट्रपतिसँग अलग्गै शिष्टाचार भेटवार्ता गरेका थिए।

राष्ट्रपति भण्डारी राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को विशेष विमानबाट आज बिहान यहाँ आइपुगेकी हुन्। यहाँ आइपुगेकी राष्ट्रपति भण्डारीलाई बंगलादेशका राष्ट्रपति हमिदले विमानस्थलमा स्वागत गरेका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad