राजनीति


खनाल-नेपाल समूहका नेता भन्छन् : ओलीले गुटगत मानसिकता त्यागे गल्ती सच्याउन तयार छौं

खनाल-नेपाल समूहका नेता भन्छन् : ओलीले गुटगत मानसिकता त्यागे गल्ती सच्याउन तयार छौं

नेपालखबर
चैत ५, २०७७ बिहिबार ९:२९,

नेपाल कम्युनिष्ट पार्टी(एमाले) खनाल-नेपाल समूहको राष्ट्रिय भेलामा उपस्थित नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले कार्यशैली सुधार गरी पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन्।

नेकपा(एमाले) माधव समूहले ललितपुरको सानेपामा राष्ट्रिय भेला गरिरहेको छ। राष्ट्रिय भेलामा देशभरबाट नेता, कार्यकर्ताको उपस्थिति रहेको छ। भेलामा उपस्थित नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले गुटगत मानसिकता त्यागेर पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन्।

नेकपा(एमाले)का नेता भिम आचार्यले पार्टी संस्थापन पक्षले गरेको गुटबन्दी र विभाजनकारी गतिविधिको विरोधमा पार्टीलाई मजबुद बनाउने उदेश्यका साथ राष्ट्रिय भेला गरिएको बताए।

भेलाले कम्युनिष्ट आन्दोलन कमजोर हुन नदिन अध्यक्ष ओली लगायत आम नेता, कार्यकर्तालाई आव्हान गर्ने उनको भनाई छ। वामपन्थी आन्दोलनलाई एकीकृत गर्ने कुरामा आफूहरुको जोड रहेको पनि उनले बताए।

नेता झपट रावलले पार्टी नेतृत्वले स्वेच्छाचारी गतिविधि सच्याउनुपर्ने बताए। नेतृत्वले अझै अरु गल्ती गर्ने सम्भावना भएकाले दबाबका लागि भेला राखिएको उनको भनाइ छ।

अर्का नेता ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीले चैत्र ७ गते आयोजना गरेको केन्द्रीय कमिटी बैठक स्थगित गरेर आफूहरु सहितको अर्को बैठक बोलाउनुपर्नेमा जोड दिए।

नेकपा(एमाले)कि नेतृ समिना हुसेनले अध्यक्ष तथा संसदीय दलका नेता ओलीले गलत नियतका साथ बिहीबारको संसदीय दलको बैठक राखेको बताइन्। नेकपा(एमाले)लाई एकताबद्ध बनाउन ओलीको भूमिका हुनुपर्ने उनको भनाइ छ।

पार्टीका पुराना नेता मोहनचन्द्र अधिकारीले केपी शर्मा ओलीले वर्गीय दृष्टिकोण छोडेको आरोप लगाए। ओली गुट परस्त मान्छे भएको र एकलौटी निर्णय गर्ने गरेको उनको भनाइ छ।

नेता अधिकारीले गुटबन्दी त्यागेर एकताको पहल गरे आफूहरु पनि गल्ती सच्याउन तयार रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad