नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदहरु प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको संसदीय दलको बैठकमा सहभागी हुने भएका छन्।
प्रधानमन्त्री ओलीले बालुवाटारमा बिहीबार बिहान ११ बजेका लागि संसदीय दलको बैठक बोलाएका छन्।
राष्ट्रिय भेलाकै बीच ओलीले संसदीय दलको बैठक राखेपछि आफूहरु सहभागी हुने नहुनेबारे नेपाल–खनाल पक्षका सांसदहरुको बैठक बिहीबार बिहान सानेपास्थित हेरिजेट गार्डेन बसेको थियो। उक्त बैठकमा स्थायी कमिटीका सदस्यबाहेकका सांसदहरु ओलीले बोलाएको बैठकमा सहभागी हुने सहमति भएको एक सांसदले बताए।
‘स्थायी कमिटीका सदस्यबाहेक अन्य सांसदहरु बैठकमा सहभागी हुने भन्ने भएको छ’, ती सांसदले नेपालखबरसँग भने।
बुधबारको पत्रकार सम्मेलनमा नेता योगेश भट्टराईले प्रधानमन्त्री ओलीको बोलाएको संसदीय दलको बैठकमा आफूहरु नजाने बताएका थिए।
एमालेभित्र विवाद उत्कर्षमा पुगेका बेला नेपाल–खना पक्षले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेका छन्। उक्त भेला बुधबारदेखि सानेपास्थित हेरिजेट गार्डेनमा जारी रहेको छ।
Shares

प्रतिक्रिया