राजनीति


राष्ट्रिय भेला आयोजक भन्छन् : सहभागीको संख्या सोचेभन्दा बढी, नेताभन्दा कार्यकर्ता चर्का

राष्ट्रिय भेला आयोजक भन्छन् : सहभागीको संख्या सोचेभन्दा बढी, नेताभन्दा कार्यकर्ता चर्का

मणि दाहाल
चैत ४, २०७७ बुधबार १७:४९,

सर्वोच्च अदालतको फैसलापछि नेकपा–एमालेको संगठनात्मक संरचनाको प्रस्थानबिन्दू कहिलेलाई मान्ने भन्नेमा पार्टीका दुई खेमाबीच विवाद चर्किएको छ।

दुई पक्षबीच मूलतः यसै विषयमा कुरा नमिलेपछि पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनालले नेतृत्व गरेको समूहले आफूपक्षीय कार्यकर्ताहरुको राष्ट्रिय भेला गरेका छन्।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा एकलौटी गर्न खोजेको भन्दै नेपाल–खनाल पक्षले ‘ओली प्रवृत्तिविरुद्ध संघर्ष गर्ने’ घोषणासहित सो भेला आयोजना गरेको हो।

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको भेलामा देशभरबाट आएका चार हजारभन्दा बढी नेता कार्यकर्ता सहभागी रहेको आयोजकहरुले बताएका छन्।

ती हजारौं सहभागीलाई १० समूहमा विभाजन गरेर छलफल सुरु भएको छ। छलफल तथा अन्तरक्रियामा प्रतिनिधिहरुले उठाएका विषयलाई टोलीनेताहरुले बिहीबार हुने बन्दसत्रमा प्रस्तुत गर्नेछन्।

‘भेलामा आउनबाट रोक्नका लागि बिभिन्न प्रकारका सूचना तथा निर्देशनहरु जारी गर्ने, जिल्ला तहका कार्यकर्तालाई फोन गर्ने लगायतका प्रयास गरेपनि हामीले अपेक्षा गरेभन्दा बढी नै सहभागिता रह्यो’ स्थायी कमिटी सदस्य रघुजी पन्तले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आयोजना गरेको चियापान कार्यक्रममा सम्बोधन गर्ने क्रममा राष्ट्रिय भेलाप्रति नजर रहने भनी चेतावनी दिएका थिए।

त्यसैगरी महासचिव ईश्वर पोखरेलले बिहीबार बिज्ञप्ती जारी गर्दै एमालेले कुनै प्रकारको भेला नगरेको बताएका थिए। नेपाल–खनाल समूहले गरेको भेलातर्फ संकेत गर्दै उनले सो भेलामा सहभागी नहुन निर्देशन दिएका थिए।

आयोजक नेताहरुले आफूहरुले देशभरबाट दुई हजारको हाराहारीमा कार्यकर्ता सहभागी हुने अपेक्षा गरेकामा चार हजारभन्दा बढी सहभागी भएपछि आफूहरु उत्साहित भएको दाबी गरेका छन्।

Nepal Khanal Bhela Chait77aaa

नेताभन्दा कार्यकर्ता चर्का
एक स्थायी कमिटी सदस्यले समूहगत छलफलका क्रममा कार्यकर्ताका धारणा सुन्दा आफू चकित परेको बताए।

‘समूहगत छलफलमा सहभागी नेता तथा कार्यकर्ताहरुको भनाइ केन्द्रका नेताहरुको भन्दा झन चर्को देखियो,’ उनले भने, ‘उनीहरुका कुरा सुन्दा कार्यकर्तामा कारबाहीको डर त्रास नरहेको देखियो।’

भेलाका सहभागीले समूहगत छलफलमा प्रधानमन्त्री ओलीसँग सम्झौता नगर्न र कडा संघर्ष गर्न सुझाव दिएको एक सहभागीले बताए।

‘ओली प्रवृत्तिविरुद्ध संघर्ष गर्ने र अन्य वामपन्थी दलहरुसँग सहकार्य गरेर अघि बढ्नु पर्छ भन्ने धेरै कार्यकर्ताको धारणा रहेको पाइयो,’ ती सहभागीले भने।

उनीहरुले केन्द्रमा ओलीले जस्तो रवैया देखाउने गरेका छन्, जिल्लामा ओली पक्षका कार्यकर्ताहरुले पनि उस्तै प्रवृत्ति देखाउने गरेको बताएका थिए।

‘केन्द्रमा मात्रै होइन, ओली पक्षको जिल्लातहका नेतामा पनि उस्तै प्रवृत्ति छ। त्योसँग सम्झौता होइन संघर्ष गर्नु नै अबको विकल्प हो,’ ती नेताले भने।

स्थायी कमिटी सदस्य पन्तले २०७५ जेठ २ गते सम्म क्रियाशील कमिटीहरुलाई नै सक्रिय बनाउनेमा भेलाका सहभागीहरुको जोड रहेको बताए।

‘अदालतको फैसलाले एमालेलाई २०७५ जेठ ३ भन्दाअघिको अवस्थामा पु¥याएको छ,’ उनले भने, ‘अब प्रत्येक जिल्लामा त्यहीअनुसारका कमिटीहरु सक्रिय हुन्छन्। हामीले समानान्तर कमिटी बनाउने होइन।’

सहभागीहरुलाई सात प्रदेशका सात वटा समूह, पेशागत संघ संगठन, जनवर्गीय संगठन र केन्द्रीय निकाय तथा विभागका गरी कूल १० समूहमा विभाजन गरिएको छ।

भेलास्थलमा भेटिएका एक प्रतिनिधि सभा सदस्यले एमाले अब एक रहन निकै कठीन हुने बताए। ‘पार्टी विभाजनमा जान पनि गा¥हो छ तर एकै ठाउँमा मिलेर बस्न झन् कठीन छ,’ ती सांसदले भने।

तर ओली पक्षले भने भेलाको नाममा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नयाँ प्रकृतिको घेराबन्दी गर्न खोजिएको बताएका छन्।

‘अहिले एमालेमा सिर्जित विवाद नेकपा भित्रको विवादको निरन्तरता हो,’ ओलीनिकट रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नयाँ आवरणमा अध्यक्षमाथि गरिएको प्रहार र घेरावन्दी अस्वीकार्य छ।’

उनले भनेका छन्, ‘पार्टी र आन्दोलनको मुख्य नेताका विरुद्धमा प्रहार केन्द्रित गरेर न पार्टी एकताको रक्षा हुन्छ न त आन्दोलनको हित र विकास नै।’

यसैगरी महासचिव ईश्वर पोखरेलले बुधबारबाट सुरु भएको राष्ट्रिय भेलालाई पार्टीले गम्भीरतापूर्वक नोट गरिरहेको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .