कारोबार


प्रविधिको युग : अमेरिकामा चुरोट पसलदेखि ग्यास स्टेसनसम्म देखिनथाले बिटक्वाइन एटीएम

प्रविधिको युग : अमेरिकामा चुरोट पसलदेखि ग्यास स्टेसनसम्म देखिनथाले बिटक्वाइन एटीएम

नेपालखबर
चैत ४, २०७७ बुधबार १६:५६,

मोन्टानाका चुरोट पसल, क्यारोलिनाका ग्यास स्टेसन र न्युयोर्क सहरका टाढा टाढाका कुनामा एउटा नयाँ फिचर देखिनथालेका छन्।

त्यो नयाँ फिचर अरु केही नभएर संसारमा विस्तारै अभ्यास हुनथालेको भर्चुअल मुद्रा बिटक्वाइनको एटीएम हो।

जहाँ क्रेताले बिटक्वाइन किन्न र बिक्रेताले बेच्न पनि सक्छन्।

बितेको दुई वर्षयता अमेरिकाभर बिटक्वाइन एटीएम राख्ने क्रममा तीव्रता आएको छ।

पछिल्लो समय बिटक्वाइनको मूल्य ५८ हजार अमेरिकी डलरमाथि पुग्दै गर्दा बिटक्वाइन एटीएमको संख्या पनि बढ्दै गएको छ। कियोस्कका सञ्चालकहरु क्वाइनफ्लिप र क्वाइन क्लाउडले हजारौँ यस्ता एटीएमहरु राखेका छन्।

क्वाड क्वाइन संस्थापक मार्क शोइकेत भन्छन्, ‘मैले त्यहाँ बिटक्वाइन चाहने मानिसहरु र यसको माग यत्रतत्र रहेको अनुमान गरेँ।’ मार्क बिटक्वाइन एटीएम डेसर्टका लागि एउटा अमेरिकी नक्सा स्क्यान गरेपछि मोन्टाना उडेका थिए।

साता लामो सडक यात्रापछि उनले बिटक्वाइन एटीएम मेसिन राख्ने सातवटा स्थान पाए।

त्यसमध्ये एउटा थियो– मोन्टानको बिलिंग्समा रहेको ४०६ ग्लास स्टोर । यसले सुर्तीजन्य पदार्थ भेप जुस र रंगविरंगका सिसाका पाइप बेच्छ । जनवरीसम्म अमेरिकामा बिटक्वाइन एटीएमको संख्या २८ हजार १ सय ८५ वटा पुगिसकेको हाउमेनीबिटक्वाइनएटीएम्सडटकमले जनाएको छ।

यो एउटा स्वतन्त्र अनुसन्धान साइट हो। पाँच महिनामै १० हजार यस्ता एटीएम राखिएको पाइएको छ । यसरी नयाँ एटीएम स्थापना हुनुलाई पछिल्लो समय बिटक्वाइन मूल्यमा आएको तीव्र बढोत्तरीलाई लिइएको छ।

अनलाइन कारोबारभन्दा मानिसहरुले गर्ने एटीएम प्रयोग फरक हुन्छ। कसैले क्यास पाउँछन्, कसैको बैंक एकाउन्ट नै हुँदैन, कसैले विदेशमा रेमिट्यान्स पठाउन चाहन्छन् त कोही गोप्य रहन चाहन्छन्। कोही भने भौतिक मेसिनसँग हुँदा आनन्द अनुभव गर्छन्।

५१ वर्षीया रेबेका ह्वाइट एक बिटक्वाइन लगानीकर्ता हुन्। उनी पिट्सबर्गमा बस्छिन्। उनी ठूलै परिमाणमा अनलाइन लगानी गर्छिन् तर परिवारसँग थप पैसा हुँदा बिटक्वाइन एटीएम पनि प्रयोग गर्छिन्।

‘जब हामी हाम्रो ग्रोसरी किनमेल गर्छौँ र हामीसँग ६० डलर बाँकी हुन्छ, म बिटक्वाइन एटीएममा रोकिन्छु’, ह्वाइट भन्छिन्। उनी एक आणविक ऊर्जा उद्योगमा कार्यरत छिन्।

केही यस्ता मेसिनले बिटक्वाइन दिने मात्रै काम गर्छन् भने अन्य केहीले भने इच्छुक लगानीकर्तालाई धेरै किसिमका भर्चुअल मुद्रामा लगानी गर्ने सुविधा पनि दिएका छन्। थोरै बिटक्वाइन एटीएमले पैसा पनि उपलब्ध गराउँछन्। तर उनीहरु महंगा छन्।

साइफर ट्रेस नामक कम्पनीको वित्तीय अनुसन्धान र शिक्षासम्बन्धी निर्देशक पामेला क्लेगका अनुसार यस्ता एटीएम प्रयोगबापत कुल कारोबारको छ प्रतिशतदेखि २० प्रतिशतसम्म शुल्क लाग्छ । यस्तो शुल्क स्थानअनुसार र बिटक्वाइन एटीएम सञ्चालकअनुसार फरक पर्छ।

क्लेगका अनुसार एटीएम बजारमा ४५ प्रतिशतले बढेको छ। एटीएम वृद्धिदर तीव्र बन्दै गर्दा सरकारी संस्थाहरुले केही एटीएममाथि रोक समेत लगाएका छन्। ती एटीएमको लागत र अवैध क्रियाकलापलाई कारण देखाउँदै केही एटीएममाथि रातो झण्डा देखाइएको हो।

कियोस्क के हो?
कियोस्क भनेको धेरै नै किनमेल हुने बजारीया क्षेत्रमा राखिने सानो, अस्थायी एउटा बुथ हो। इन्भेष्टोपेडियाका अनुसार बिटक्वाइन एटीएम भनेको इन्टरनेट जोडिएको कियोस्क हो। यसले कस्टुमर (क्रेता)लाई बिटक्वाइन वा अन्य क्रिप्टोकरेन्सी पैसा राखेर किन्न अनुमति दिन्छ।

यति हुँदाहुृँदै पनि यो सामान्य बैंकिङ प्रयोजनको एटीएम भने होइन। बैंक एटीएमले ग्राहकलाई आफैँले पैसा झिक्न, राख्न र फन्ड ट्रान्सफर गर्न दिन्छ। यसले चाहिँ ब्लकचेनमा आधाािरत कारोबार गराउँछ जसबाट प्रयोगकर्ताको डिजिटल वालेटमा क्रिप्टोकरेन्सी पठाउन सकिन्छ। प्रायःगरी क्युआर कोड प्रयोगमार्फत यसो गर्न सकिन्छ। (रोयटर्सबाट भावानुवाद)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .