संसदीय सुनुवाई विशेष समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरुका सम्बन्धमा सार्वजनिक उजुरी आव्हान गर्ने निर्णय गरेको छ।
बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले न्यायपरिषद्बाट सिफारिस भएका सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशका सम्बन्धमा सार्वजनिक उजुरी आव्हान गर्ने निर्णय गरेको हो। समितिले सो सम्बन्धी सूचना प्रकाशित गर्न सचिवालयलाई निर्देशन पनि दिएको छ।
समितिको यो निर्णयसँगै सार्वजनिक सूचना प्रकाशित भएको मितिले १० दिनभित्र प्रस्तावित न्यायाधीशहरु विरुद्ध समितिमा उजुरी गर्न सकिने सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।
न्यायपरिषद्ले सर्वोच्च अदालतका न्यायाधीशमा सुर्खेत उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुँडालको नाम सिफारिस गरेको थियो।
संवैधानिक निकायमा सिफारिस भएका पदाधिकारीहरुको संसदीय सुनुवाई गर्नुपर्ने संवैधानिक व्यवस्था छ। संसदीय सुनुवाईपछि परिषद्ले संविधानको धारा १ सय २९ बमोजिम नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने छ।
प्रतिक्रिया