प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले ४ र ५ गतेका लागि बोलाएको राष्ट्रिय कार्यकर्ता भेलामाथि आफ्नो नजर रहने बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार आयोजित केन्द्रीय सदस्यहरुको चियापान समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल समूहको भेलामा सहभागी नहुन नेता कार्यकर्तालाई निर्देशन समेत दिए।
उनले आजको चियापानमा नेपाल पक्ष नआउनु राम्रो संकेत नभएको बताउँदै ४ र ५ गतेको भेलामा कसरी प्रस्तुत हुन्छन् भन्ने कुरा आफूले हेर्ने बताएका हुन्।
उनले नेपाल पक्षले निर्णय नै गरेर चियापानमा नआएको आफूले सुने पनि आफूलाई त्यस्तो गरे होलान् भन्ने नलागेको बताए।
‘भोलिको भेला गर्नुहुन्छ कि गर्नुहुन्न? भेलामा अझै कति तमासा गर्नुहुन्छ, एक नजर त्यता राखिनेछ’, ओलीले भने, ‘पार्टीलाई धम्क्याएर, घुर्क्याएर ठेगान लगाउँछु भन्ने सोचेको भए त्यस्तो हुँदैन। पार्टी विधि विधानअनुसार चल्छ।’
उनले नचाहिने कुराका लागि आफू नलत्रिने बताए। सत्यसँग आफू नलड्ने भन्दै निउखोजाहरुसँग नझुक्ने आफ्नो नीति रहेको बताए।
‘सत्यसँग नलड्ने, निउखोजाहरुसँग नझुक्ने हाम्री नीति त्यही हो’, उनले भने।

प्रतिक्रिया