राजनीति


ओलीले नेपाललाई वार्ता गर्न बोलाए, आज धुम्बाराहीमा छलफल हुने

ओलीले नेपाललाई वार्ता गर्न बोलाए, आज धुम्बाराहीमा छलफल हुने

नेपालखबर
चैत २, २०७७ सोमबार ४:३६,

प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट माधवकुमार नेपाल पक्षलाई वार्ता गर्न बोलाएका छन्।

माधव नेपालनिकट एक नेताले नेपालखबरलाई दिएको जानकारीअनुसार दुई पक्षबीच वार्ता अहिले बिहान ११ बजे धुम्बाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुनेछ।

‘छलफलका लागि खबर आएको छ,’ ती नेताले भने, ‘नेता नेपालज्यूलगायत धुम्बाराही जाने तयारीमा हुनुहुन्छ।’

एमालेमा दुई पक्ष लगभग विभाजन हुन लागिसकेको अवस्थामा ओलीले माधव नेपाल–झलनाथ खनाल पक्षलाई वार्ता गर्न बोलाएका हुन्।

ती नेताका अनुसार प्रधानमन्त्री ओलीले छलफलका लागि आउन भन्दै नेता नेपाललाई फोन गरेका थिए।

‘प्रधानमन्त्रीज्यूले फोन गर्नुभएको थियो, उहाँले बालुवाटारमा आउन भन्नुभएको थियो,’ ती नेताले नेपालखबरसँग भने, ‘तर नेपालज्यूले म त बालुवाटार आउँदिनँ भनेपछि वार्तास्थल धुम्बाराही तोकिएको हो।’

यसैगरी नेता नेपालले आफू एक्लै नआउने भनेपछि अध्यक्ष ओलीले ‘आउनुस् न त ४/५ जना लिएर’ भनेको उनले बताए।

अहिले माधवकुमार नेपाल, झलनाथ खनाल, सुरेन्द्र पाण्डे, भीम रावल तथा घनश्याम भुसाल धुम्बाराही जाने तयारी भइरहेको उनले बताए।

उता ओली पक्षबाट उनीसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र सचिव प्रदीप ज्ञवाली सहभागी हुने बताइएको छ।

हिजो (आइतबार) मात्र एमालेका वरिष्ठ नेता नेपाल र खनालसहित ११ स्थायी कमिटी सदस्यले पार्टी अध्यक्ष ओलीले गरेको निर्णय नमान्ने घोषणा गरेका थिए। संयुक्त वक्तव्य निकालेर उनीहरूले फागुन २८ गते प्रधानमन्त्री निवास (बालुवाटार) मा ओलीले गुटको भेला गरी गरेको ‘स्वेच्छाचारी निर्णय’प्रति गम्भीर आपत्ति जनाएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad