राजनीति


यी हुन् माधव नेपाल पक्षका चार रणनीतिः नयाँ पार्टी गठन, प्रचण्डसँग एकता

यी हुन् माधव नेपाल पक्षका चार रणनीतिः नयाँ पार्टी गठन, प्रचण्डसँग एकता

नेपालखबर
चैत १, २०७७ आइतबार १७:१८,

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल पक्षलाई पाखा लगाएर नै पुनस्थापित नेकपा एमाले चलाउने तयारी गरेपछि संसदको सबैभन्दा ठूलो यो पार्टी विभाजित हुने अवस्थामा पुगेको छ।

अध्यक्ष ओलीले आफ्नो समूहका केही नेताहरूसँग माधव नेपालबाहेक नै एमालेलाई अगाडि बढाउने योजना सुनाएका छन् भने नेपाल पक्षले पनि एमालेको समानान्तर संरचना तयार गर्दै नयाँ पार्टी स्थापना गर्ने योजना बनाएको छ।

प्रधानमन्त्री ओली निकट एक नेताका अनुसार अब सरकार नरहने विश्लेषण गर्दै ओली पक्ष माधव नेपाल पक्षलाई एमालेमा नभित्र्याउने बरु अझै निर्मम तरिकाले कारबाही प्रक्रिया चलाउने निष्कर्षमा पुगेको हो।

‘अब सरकार रहँदैन भन्ने निष्कर्षमा प्रधानमन्त्री पुगेकोजस्तो देखिन्छ, त्यसपछि नै माधव नेपाल बिना नै एमालेलाई अगाडि बढाउने तयारी उहाँले गर्नु भएको छ’, ती नेताले भने।

गत शुक्रबार माधव नेपाल पक्षलाई नबोलाई प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरिएको ओली पक्षको भेलाले पूर्वमाओवादीबाट एमालेमा समाहित भएका रामबहादुर थापासहित २३ जनालाई केन्द्रीय सदस्यमा नियुक्त गरि माधव नेपाल पक्षका नेताहरूको जिम्मेवारी समेत खोसेपछि विवाद चर्किएको हो।

नेपाल पक्षले शुक्रबार गरिएको निर्णय फिर्ता लिएर वाम गठबन्धनको सरकारलाई निरन्तरता दिनुपर्ने र पार्टीका सबै बैठक पार्टी कार्यालयमा हुनु पर्ने शर्त राखेको छ। चैत ७ गते प्रधानमन्त्री निवास बालुवाटारमा राखेको केन्द्रीय कमिटी बैठकमा नेपाल पक्ष सहभागी नहुने छनक पाएपछि ओलीले स्थिति सामान्य तुल्याउन ३ गते बालुवाटारमै चियापान आयोजना गरेका छन्।

माधव नेपाल पक्षलाई एमालेबाट अलग गर्ने ओलीको एकलौटी निर्णयप्रति उनी निकट नेताहरू समेत सन्तुष्ट छैनन्।

ओलीले बालुवाटारमा त्यस्तो निर्णय गरेलगत्तै शुक्रबार नै माधव नेपाल पक्षका स्थायी समिति सदस्यहरूको भेलाले राष्ट्रिय भेला बोलाउने निर्णय गरेको छ। यो निर्णय अनुसार चैत ४ र ५ गते काठमाडौंमा माधव नेपाल पक्षको भेला हुँदैछ, जहाँ गाउँ पालिका तहका जनप्रतिनिधि र पार्टी कार्यकर्तासमेत करिब तीन हजार जना सहभागी हुने छन्।

नेपाल पक्षको शनिबार बसेको केन्द्रीय समितिको बैठकले ओली पक्षको समानान्तर संगठन संरचना बनाउने निर्णय गर्दै प्रदेश इन्चार्जहरूसमेत तोकेको छ। अब हुने राष्ट्रिय भेलाले गाउँ तहसम्म पार्टीको समानान्तर संरचना बनाउने र आवश्यक परे उपयुक्त समयमा पार्टी विभाजन गर्न सकिने निर्णय गर्दैछ।

ओलीले पार्टी एकलौटी रुपमा सञ्चालन गर्ने तयारी गरेपछि नेपाल पक्षले समानान्तर रुपमा चार रणनीति तय गरेको छः

एक, अहिले सुरु भएको एमालेको समानान्तर संरचना देशभर विस्तार गर्ने। केन्द्रदेखि गाउँ तहसम्म र जनसंगठनमा पनि समानान्तर संरचना निर्माण गर्ने। ओली पक्षलाई चुनौती दिँदै समानान्तर रुपमा एमाले पार्टी सञ्चालन गर्ने। चैत ४ र ५ गतेको राष्ट्रिय भेलाले समानान्तर संरचना निर्माण गर्ने योजना तय गर्ने। यो भेलालाई नेपाल पक्षले ओलीको निर्णयसँग असहमत हुनेहरूको भेला भनेको छ। त्यसपछि २ जेठ २०७५ को सांगठनको संरचना अनुसार देशव्यापी रुपमा एमालेकै नामबाट कार्यक्रमहरू गर्ने।

दुई, प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी वा त्यसको एउटा पक्षसँग सत्ता गठबन्धन गर्ने गरि प्रतिनिधि सभामा विश्वासको मत लिन खोजेमा माधव नेपाल पक्षले फ्लोर क्रस गर्ने वा अनुपस्थित भएर असफल तुल्याउने। त्यसो गर्दा ओलीले प्रतिनिधि सभामा प्रधानमन्त्रीमा रहिरहनका लागि आवश्यक संख्या पुर्याउन सक्दैनन्। फ्लोर क्रस गर्दा वा संसद बैठकमा अनुपस्थित हुने निर्णय गर्दा ओलीले संसदबाट नै हटाउन सक्ने भएपनि त्यसका लागि तयार रहने। तर वाम गठबन्धनको सरकार कायम राख्नु पर्ने निर्णय गरिएको हुँदा त्यसरी फ्लोर क्रस गर्नुहुँदैन भन्ने मत पनि नेपाल पक्षमा बलियो देखिन्छ।

‘हामीले वाम सहकार्य हुनुपर्छ भनेकाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन्छौं, फ्लोर क्रस गरेर वा अनुपस्थिति भएर हामीमाथि कारबाही गर्ने अवस्था आउन दिँदैनौं’, नेपाल पक्षका एक जना स्थायी समिति सदस्यले भने।

संसदमा फ्लोर क्रस गर्ने वा अनुपस्थिति भएर प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिन असफल तुल्याए उनले फेरि प्रतिनिधि सभा भंग गर्न सक्ने भएकाले पनि नेपाल पक्षले त्यो बाटो नअपनाउने कतिपय नेताको भनाइ छ।

तीन, ओलीले एमाले एकीकृत नबनाउने तयारी गरेकाले माधव नेपाल पक्षले समानान्तर संगठन संरचना बनाउँदै अन्ततः नयाँ पार्टी गठन गर्ने तयारी गरेको छ। नयाँ पार्टी गठन गर्ने निर्णयमा पुग्दा नेपाल पक्षले आफ्नो पक्षका सांसदहरूको संसदको लोगो सामुहिक रुपमै ओलीलाई जिम्मा लगाउने तयारी समेत गरिरहेको बुझिएको छ। सांसद नै त्याग्न तयार भएपछि संसदीय दल र केन्द्रीय समितिमा ४० प्रतिशत पुर्याउनु पर्ने बाध्यता पर्ने छैन।

चार, पुनस्थापित माओवादी केन्द्रले नेकपालाई मान्यता नदिएर एमाले र माओवादी केन्द्र छुट्याउने फैसला उल्टाउन सर्वोच्च अदालतमा पुनरावेदनमा जाने निर्णय गरेको छ। यदि अदालतले एमाले र माओवादी केन्द्र छुट्याउने निर्णय उल्टाइदिएन भने अन्ततः माधव नेपालले नेतृत्व गरेको पार्टी र माओवादी केन्द्रबीच पुनः एकता गरेर नयाँ पार्टी बनाउने तयारी नेपाल पक्षले गरेको छ।

झलनाथ खनाल र माधव नेपाल पक्षले तय गरेका यी रणनीति प्रधानमन्त्री केपी ओली पक्ष अहिलेकै जस्तो एकलौटी रुपमा हिँडिरहे मात्रै लागू हुने देखिन्छ। यदि शुक्रबार गरिएका निर्णय उल्टाएर सहमति जुटाउन ओली तयार भएभने यो पक्षले त्यही अनुसार रणनीति परिवर्तन गर्नेछ।

प्रचण्डले नेकपामा हुँदा ओलीविरुद्ध १९ पृष्ठको प्रतिवदेन प्रस्तुत गरेकै शैलीमा आइतबार नेपाल पक्षका ११ जना स्थायी समिति सदस्यहरूको वक्तव्य आएको छ। जसले एमाले सहमतितर्फ होइन विभाजनतर्फ उन्मुख भएको प्रष्ट संकेत गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad