आगलागीपीडित नेपालीलाई १० लाख हङकङ डलर सहयोग

आगलागीपीडित नेपालीलाई १० लाख हङकङ डलर सहयोग

मगेन्द्र राई
चैत १, २०७७ आइतबार १६:२२,

हङकङमा गत नोभेम्बरमा भएको आगलागीमा परी मृत्यु भएका तथा घाइते भएका नेपालीका परिवारलाई ङो तेङ फोङ च्यारिटेबल फाउन्डेसनले हङकङ डलर १० लाख जुटाई राहत बाँडेको छ।

प्रोपर्टी डेभलपर साइनो ग्रुपद्वारा स्थापित फाउन्डेसनले विभिन्न संघ/संस्थासँगको सहकार्यमा मृत्यु भएका ८ जनाका परिवारलाई ८० हजार तथा घाइते भएका ९ जनाका परिवारलाई ४० हजार डलरका दरले सहयोग उपलब्ध गराएको हो।

यौमातेईस्थित हङकङ नेपाली महासंघको कार्यलयमा शनिबार आयोजित कार्यक्रममा चेक फाउन्डेसनका व्यवस्थापक इभान याउले राहत वितरण गरेका हुन्।

जोर्डनस्थित एक नेपाली रेस्टुरेन्टमा गत नोभेम्बर १५ तारिख आगलागी हुँदा विनिता तामाङ, कृति कँडेल, अनिता निरौला, युवराज कडेल, शेरबहादुर गुरुङ, रामबाबु नेपाल र रायन नेपालको मृत्यु भएको थियो। घटनामा मुकेश श्रेष्ठ, गीता कँडेल, सुवित्रा थापा, लाक्पा शेर्पा, नीला राई, शालिकराम कँडेल, डबकी कँडेल र हस्तमाया धिमाल राई घाइते भएका थिए।

साइनो ग्रुप (हङकङ) का अध्यक्ष रोबर्ट ङो तथा उनका भाइ फिलिप ङो ले सन् २०१० मा आफ्ना स्वर्गीय पिता ङो तेङ फोङ को सम्झनामा ङो तेङ फोङ च्यारिटेबल फाउन्डेसन स्थापना गरेका हुन्।

फाइन्डेसनले शिक्षा, कला-संस्कृति र सामुदायिक क्षेत्रमा सहयोग उपलब्ध गराइरहेको छ। साथै सन् २०१५ देखि सिंगापुरमा ७०० बेडको ङो तेङ फोङ अस्पतालसमेत सञ्चालन गरिरहेको छ।

पीडित परिवारलाई यसभन्दा अगाडि पनि लि का सिङ फाउन्डेसनले समग्रमा ३० लाख तथा सिक सिक युन संस्थाले १० लाख हङकङ डलर सहयोग गरिसकेका छन्। यस्तै हङकङ एकीकृत नेपाली समाजले पनि १ लाख ५० हजार डलर राहत दिइसकेको छ। अन्य संस्थाले पनि सहयोग दिन भनेर रकम संकलन गरिरहेका छन्।

कसरी जुट्यो ङो तेङ फोङ फाउन्डेसनबाट सहयोग?
आगलागीपीडितलाई राहत जुटाउन हङकङ नेपाली महासंघ, एनआरएनए हङकङ, आदिवासी जनजाति महासंघ हङकङ र नेपाल च्याम्बर्स अफ कमर्स मिलेर सहयोग संकलन गरिएको नेपाली महासंघका अध्यक्ष टंक रानाले नेपालखबरलाई जानकारी दिए।

तर प्रकाश पुनले नेतृत्व गरेको जीथ्रीएस लिमिटेडले आफूखुसी सहयोग संकलन थालेको विषयमा एनआरएनका अध्यक्ष राधिका ९टीका० गुरुङबाट चित्तबुझ्दो स्पष्टीकरण नआएपछि राना निष्क्रिय भएका थिए।

तर हरेक घटनामा नेपालीबाटै सहयोग उठाउने कुरामा रानाले सधैं विमति जनाउँथे।

उनी भन्छन्, ‘हामी श्रमजीवी नेपालीबाट कति नै सहयोग उठाउन सकिन्छ र ! किन जहिल्यै टोकरी थापेर सहयोगको याचना गरिरहने? यहाँ अर्बाैं डलर भएका दाता छन्, जो कहाँ र कसलाई सहयोग दिऊँ भनेर पर्खिराखेका हुन्छन्, फेरि चिनियाँ भाषामा मेरो दक्खल पनि छ, डोनरकहाँ प्रपोजल पेस गर्‍याैँ, संवाद गर्‍याैँ र राहत जुटाउन सफल भयौं।’

उनका अनुसार हरेक दातालाई उनैको हातबाट पीडिलाई सहयोग पुर्‍याउने पहल नेपाली महासंघले गर्नेछ। त्यसो हुँदा पारदर्शी ढंगले सहयोग सीधै पीडितकहाँ पुग्ने उनको भनाइ छ।

चिनियाँ दाताबाट चासो
महासंघको पहलमा राहत वितरण भएको समाचार सुनेपछि एनआरएनए, जीथ्रीएसमार्फत सहयोग उपलब्ध गराएका चिनियाँले ‘हामीले दिएको रकम के भयो?’ भनी फोन गरेको अध्यक्ष रानाले नेपालखबरलाई बताए।

थप सहयोग आउन सक्ने
१० वर्षदेखि रोबर्ट ङोका अंगरक्षक रहेका जयराम राईले थप सहयोग आउन सक्ने जानकारी नेपालखबरलाई दिए। रोबर्टले पीडित परिवारबारे बारम्बार सोधपुछ गरिरहेकाले सहयोग उपलब्ध गराउन सक्ने संकेत देखिएको उनको भनाइ छ।

सिंगापुरका नागरिक रोबर्टको स्वामित्वमा रहेको प्राइभेट कम्पनी साइनो ग्रुपका हङकङमा मात्र ७ सय होटल, व्यापारिकरआवासीय टावर छन्। सबैमा गरी १० हजारभन्दा बढी कर्मचारी छन्।

आफ्नो परिवारको सुरक्षाका लागि रोबर्टले नेपाली अंगरक्षक राखेका छन्। उनी सिंगापुरका सर्वाधिक धनी व्यक्ति हुन्। सन् १९९७ मा विश्वका ३०औं धनाढ्य थिए भने हाल उनीसँग १२ अर्बभन्दा बढी सम्पत्ति छ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .