राजनीति


एमालेमा गएका बादलसहितका नेतालाई माओवादीको पत्र : उतै बस्ने कि फर्कने?

एमालेमा गएका बादलसहितका नेतालाई माओवादीको पत्र : उतै बस्ने कि फर्कने?

नेपालखबर
चैत १, २०७७ आइतबार १३:२,

नेकपा (माओवादी केन्द्र)ले एमालेमा लागेका रामबहादुर थापा बादलसहितका नेताहरुलाई तत्काल आफ्नो अवस्था प्रस्ट पार्न पत्राचार गरेको छ।

माओवादी केन्द्रका एक नेताका अनुसार आइतबार केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी ७ मन्त्रीसहित एमालेमा लागेका अन्य नेताका घरमै पुगेर आफ्नो अवस्था स्पष्ट पार्न आग्रह गरिएको पत्र दिइएको हो।

‘उहाँहरुलाई आफू कता लाग्ने हो स्पस्ट पार्नका लागि पत्राचार गरेका छौं’, ती नेताले नेपालखबरसँग भने, ‘सबै नेताहरुको घरमै पुगेर पत्र दिएका छौं।’

एमालेमा लागेकामध्ये कसैले माओवादी केन्द्रमा फर्कने जवाफ पठाएमा सोमबारको केन्द्रीय समितिको बैठकमा सहभागी गराइने उनले बताए।

शनिबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।

त्यस्तै एमालेमा लागेका अन्य नेता तथा सांसदहरुलाई २४ घण्टाभित्र आफ्नो स्थिति स्पष्ट पार्न निर्देशन पनि दिएको थियो। सोही आधारमा आइतबार बसेको केन्द्रीय समिति बैठकलगत्तै गृहमन्त्री रामबहादुर थापासहितका ७ मन्त्री, केही केन्द्रीय सदस्य, सांसद, प्रदेश सांसदहरुलाई पत्राचार गरिएको हो।

पत्राचारपछि सोमबार सम्ममा केही नेता माओवादी केन्द्रतिरै फर्कनसक्ने संभावना पनि रहेको ती नेताले जानकारी दिए।

माओवादी केन्द्रबाट कति जना एमालेमा लागे भन्ने एक्किन विवरण नभए पनि आइतबारको बैठकमा प्रदेश इन्चार्जहरुले आफ्नो प्रदेशबाट कति नेता एमालेमा लागे भन्ने बारेमा रिपोर्टिङ गरेका थिए।

माओवादी केन्द्र छाडेर एमालेमा खुलेरै लागेका २३ जनालाई शुक्रबार अध्यक्ष ओलीले केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए। तर, आइतबारको माओवादी केन्द्रको बैठकमा भने जम्मा १३/१४ जना  सदस्य मात्रै अनुपस्थित भएको केन्द्रीय सदस्य हरि दाहालले बताए।

जसमा प्रदेश १ बाट जम्मा २ टंक आङबुहाङ र पासाङ शेर्पा एमालेमा लागेका छन्। प्रदेश १ का इन्चार्ज सावित्री कुमाल काफ्लेले बैठकमा आफ्नो प्रदेशबाट दुई नेतामात्रै एमालेमा लागेको जानकारी दिइन्।

त्यस्तै प्रदेश २ बाट प्रभु साह, ज्वाला कुमारी साह (प्रदेश २ को सांसद) र टेकबहादुर बलाम्पाकी एमालेमा खुलेको बैठकमा जानकारी गराइएको दाहालले बताए।

यस्तै बागमती प्रदेशबाट रामबहादुर थापा, दावा तामाङ, विष्णुलाल अधिकारी र कमल चौलागाईंले माओवादी केन्द्र छोडेका छन्। गण्डकी प्रदेशका एक प्रदेश सांसद एमालेतिर खुलेका छन्।

लुम्बिनी प्रदेशबाट संघीय सांसद टोपबहादुर रायमाझी, चन्द्रबहादुर खड्कासहित ६ जना एमाले पार्टीमा लागेका छन्।

कर्णाली प्रदेशका एक सांसदले माओवादी केन्द्र छोडेका छन् भने सुदूर​रपश्चिम प्रदेशमा लेखराज भट्टमात्रै एमालेतिर लागेको बैठकमा जानकारी गराइएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad