नेकपा एमालेका विभिन्न विभागका प्रमुख लगायत नेताहरुको महत्वपूर्ण जिम्मेवारी हेरफेर गरिएको छ।
ओली समूहको शुक्रबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको पार्टीको केन्द्रीय समिति बैठकले बिभिन्न नेताहरुको जिम्मेवारी फेरबदल गरेको हो।
तर सो बैठकमा माधवकुमार नेपाल पक्षको भने उपस्थिति नै थिएन। उनीहरुलाई बैठकबारे कुनै जानकारी नै नभएको बताएका छन्।
शुक्रबारको निर्णयसँगै संगठन विभाग प्रमुखको जिम्मेवारी विष्णु पौडेलले प्राप्त गरेका छन्।
माओवादीसँग पार्टी एकीकरण गरी नेकपा बन्नुअघि एमालेमा यो जिम्मेवारी पृथ्वीसुब्बा गुरुङले सम्हालेका थिए।
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार समेत रहेका डा. राजन भट्टराईलाई विदेश विभाग प्रमुख बनाइएको छ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई हटाई उनको ठाउँमा भट्टराईलाई चयन गरिएको हो।
निर्वाचन विभागको प्रमुखमा विष्णु रिमाललाई बनाइएको छ। यसअघि रिमालले नेतृत्व गरेको आर्थिक विभागको प्रमुखमा छविलाल विश्वकर्मा तोकिएका छन।
त्यसैगरी टोपबहादुर रायमाझीलाई जनवर्गीय सगठनहरुको इन्चार्ज तोकिएको छ।
ओली पक्षले यसअघि गरेको भेलाले पनि रायमाझीलाई सोही जिम्मेवारी दिएको थियो।
स्कुल विभाग प्रमुखको पद भने अध्यक्ष केपी शर्मा ओलीले आफैले राखेका छन्।
त्यसैगरी प्रदेश नम्बर एकको इन्चार्जमा सुवास नेम्वाङलाई चयन गरिएको छ। यसअघि सो पदमा नेपाल पक्षका भीम आचार्य थिए।
प्रदेश इन्चार्जमध्ये प्रदेश २ मा सत्यनारायण मण्डल र बागमती प्रदेशमा रामबहादुर थापालाई तोकिएको छ। यसअघि वागमती प्रदेशको इन्चार्ज अष्टलक्ष्मी शाक्य थिइन्।
कर्णाली प्रदेशमा यमलाल कँडेल र सुदूर पश्चिममा लेखराज भट्टलाई इन्चार्ज तोकिएको छ।

प्रतिक्रिया