आज (शुक्रबार) हिन्द–प्रशान्त क्षेत्रको समूह (क्वाड) को पहिलो शिखर बैठक बस्दै छ।
यस क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकाका राष्ट्रपति जो बाइडेनबीच भर्चुअल भेटवार्ता हुने बीबीसी हिन्दीले जनाएको छ।
भारत, अमेरिका, जापान र अस्ट्रेलिया मिलेर सन् २००७ मा क्वाड गठन गरेका हुन्।
ती चार राष्ट्रका नेताबीच आज भर्चुअल माध्यमबाट पहिलो बैठक बस्न लागेको हो।
भनिन्छ कि एसियामा चीनको दबदबाविरुद्ध क्वाड गठन गरिएको हो।
तर ह्वाइट हाउस (अमेरिकाको राष्ट्रपति कार्यालय) ले भने बैठकमा विश्वव्यापी महमारी कोरोना संक्रमण, यसविरुद्धको खोपका लागि आर्थिक सहयोग र जलवायु परिवर्तनबाट उत्पन्न संकटबारे छलफल गरिने संकेत दिएको छ।
ह्वाइट हाउससकी प्रवक्ता जेन साकीले भनेकी छन्, ‘हामीलाई आशा छ– कोरोना, जलवायु परिवर्तन र आर्थिक सहयोगसम्बन्धी विश्व समुदायले भोगिरहेको संकटबारे यो बैठकमा छलफल हुनेछ।’
के हो क्वाड?
द क्वाड्रिल्याटरल सेक्युरिटी डायलग (क्यूसिड) लाई ‘क्वाड’ (क्यूयूएडी) का नामले पनि चिन्ने गरिन्छ। सन् २००७ मा जापानका प्रधानमन्त्री सिन्जो आबेले पहिलोपटक यो गठनको प्रस्ताव गरेका थिए। जसमा भारत, अमेरिका र अस्ट्रेलियाले समर्थन गरेका थिए।
सन् २०१७ को अन्त्यमा तत्कालीन ट्रम्प प्रशासन र चीनबीच टकरावका कारण अमेरिकाले यो समूहलाई फेरि जीवित तुल्याएको हो। यसअघि क्वाडमा आबद्ध देशका विदेशमन्त्रीबीच भेटवार्ता भइसकेको छ। तर यो नै पहिलो बैठक हो– जहाँ क्वाडमा आबद्ध सबै देशका नेता सहभागी हुँदै छन्।
याे पनि : चीन, रुस र उत्तर कोरियाका गुप्तचरको निसाना बन्दैछ बाइडेनको यो बैठक

प्रतिक्रिया