समाज


आजदेखि गैँडाकोटमा ‘फाइनप्रिन्ट फिभर’, गगन थापादेखि राजेश हमालसम्म एउटै मञ्चमा

आजदेखि गैँडाकोटमा ‘फाइनप्रिन्ट फिभर’, गगन थापादेखि राजेश हमालसम्म एउटै मञ्चमा

नेपालखबर
फागुन २८, २०७७ शुक्रबार ४:१८,

पुस्तक प्रकाशक कम्पनी फाइनप्रिन्टको आयोजनामा आजदेखि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट हर्कपुरमा ‘फाइनप्रिन्ट फिभर’ शुरु हुँदैछ। हर्कपुरमा चौधरी फाउण्डेसनले सञ्चालन गरेको उन्नति कल्चरल भिलेजमा हुने कार्यक्रम दुई दिनसम्म चल्नेछ।

कार्यक्रममा फाइनप्रिन्टबाट २०७७ सालमा प्रकाशित कृतिका लेखकको उपस्थिति रहनेछ । साथै उनीहरूका रोचक एवं वौद्धिक विमर्शका सत्रहरू पनि सञ्चालन हुनेछन् । कार्यक्रममा उनीहरूले आफ्ना पुस्तकका विषयमा चर्चापरिचर्चा गर्नुका साथै पाठकसँग संवाद एवं अन्तक्रिया हुनेछ।

कार्यक्रमका अवसरमा लेखकसँग पुस्तक हस्ताक्षरका कार्यक्रम हुनेछन् । विशेष छुटमा पुस्तक बिक्री तथा प्रदर्शनीका साथै अन्य रचनात्मक कार्यक्रम पनि गरिने फाउण्डेसनका महाप्रबन्धक दामोदर भण्डारीले जानकारी दिए।

कार्यक्रमले पाठक एवं लेखकलाई नजिक्याउने आयोजकले विश्वास लिएको छ । चौधरी फाउन्डेसनसँगको सहकार्यमा हुन लागेको कार्यक्रमका सहभागिताका लागि शुल्क नलाग्ने उनले बताए। कार्यक्रममा सहभागी हुन चाहनेहरुलाई लक्षित गरी नवलपुरको कावासोती र चितवनको भरतपुरस्थित वीरेन्द्र क्याम्पस गेटबाट निःशुल्क यातायातको व्यवस्था गरिएको छ। निःशुल्क बस शुक्रबार दिउँसो एक बजेदेखि र शनिबार बिहान १० बजेदेखि प्रत्येक एक÷एक घण्टामा छुट्ने छन्।

फाइनप्रिन्ट फिभरका अवसरमा सांसद गगन थापा, महानायक राजेश हमाल, अभिनेत्री मनिषा कोइराला र सञ्चारकर्मी रवि लामिछानेको समेत सहभागिता रहनेछ । उक्त अवसरमा ‘देशजगत्’ शीर्षकको कार्यक्रममा लेखक एवं उद्यमी जीवा लामिछानेसँग कांग्रेस नेता गगन थापाले संवाद गर्ने कार्यक्रम छ।

यसैगरी अभिनेत्री मनिषा कोइरालासँग स्वरूप आचार्यले ‘बाँच्ने अभिलाषा’बारे संवाद गर्नुहुनेछ । ‘राजनीतिसँगै राजकाज’ पुस्तकका विषयमा आधारित रहेर लेखक एवं नेता रवीन्द्र मिश्रसँग सञ्चारकर्मी रवि लामिछानेले छलफल गर्नेछन्। उक्त अवसरमा मिश्रको पुस्तक ‘राजनीतिसँगै राजकाज’ विमोचन गर्ने कार्यक्रम पनि छ।

‘पुँजीवाद र स्वतन्त्र समाज’ नामक सत्रमा मुराहरी पराजुलीसँग विद्यालक्ष्मी महर्जनले वार्ता गर्ने छन् भने ‘धमिराहरू’ शीर्षक सत्रमा लेखक राजीव उपाध्यायसँग प्रकाश रिमालले संवाद चलाउने कार्यक्रम छ।

यसैगरी ‘इन्द्रेणी’ शीर्षकको सत्रमा निरञ्जन कुँवरसँग उनको पुस्तक ‘बिट्विन क्विन्स एन्ड द सिटिज’को सेरोफेरोमा रहेर प्रतीक्षा कट्टेलले संवाद गर्नेछिन् । ‘रहर’ कथासङ्ग्रहका लेखक सुरेश बडालसँग ‘रहरका रङ’ शीर्षक सत्रमा प्रकृति भट्टराई बस्नेतले संवाद गर्ने कार्यक्रम छ।

फिभरका अवसरमा कवितासङ्ग्रह ‘क’का लेखक असीम सागरको कविता वाचन हुने छ भने ‘अर्थनीति र राजनीति’ शीर्षक सत्रमा विनोद चौधरीसँग नयाँ पत्रिका दैनिकका सम्पादक उमेश चौहानले सम्बाद गर्नेछन्।

‘किताब मनको साथी’ शीर्षक सत्रमा महानायक राजेश हमालले पुस्तकबारेमा आफ्ना अनुभव, पुस्तकप्रति आफ्नो आकर्षण एवं लगावबारे चर्चा गर्ने कार्यक्रम छ।

फिभरका अवसरमा हमालले आफ्नो किताब पढ्ने बानी कसरी विकास भयो, किताबसँगको पहिलो साक्षात्कार कस्तो रह्यो, यसप्रतिको लगाव कसरी बढ्दै गयो भन्नेलगायत विषयमा आफ्ना अनुभव सुनाउने छन्। कार्यक्रमका अवसरमा ‘सेतो धरतीको एक दशक’ शीर्षक सत्र पनि रहनेछ।

यसमा लेखक अमर न्यौपानेले पुस्तक बजारमा आइसकेपछि पाठकबाट कस्तो प्रतिक्रिया पाए, यसले आफ्नो जीवनमा केकस्तो प्रभाव पार्यो भन्ने विषयमा न्यौपानेले आफ्नो धारणा राख्नेछन्। फिभरका अवसरमा ‘सेतो धरती’को विशेष संस्करण लोकार्पण गर्ने कार्यक्रमसमेत छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad