राजनीति


माधव नेपाल पक्षको भेलामा प्रश्न : ओलीबाट एकताको कस्तो प्रस्ताव आएको छ?

माधव नेपाल पक्षको भेलामा प्रश्न : ओलीबाट एकताको कस्तो प्रस्ताव आएको छ?

नेपालखबर
फागुन २६, २०७७ बुधबार १६:१९,

नेकपा एमालेभित्र प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताहरुले गुण्डागर्दी सुरु गरेको आरोप माधवकुमार नेपाल पक्षका नेताहरुले लगाएका छन्।

नयाँ बानेश्वरको एक होटलमा बुधबार नेपाल पक्षका नेताहरुले भेला गरिएको थियो। भेलामा नेताहरुले अदालतको फैसलाले पार्टीको संगठनात्मक संरचनाहरु २०७५ जेठ २ गतेमा पुर्‍याए पनि ओली पक्षले त्यसलाई जिल्लाजिल्लामा अस्वीकार गर्ने गरी काम गरेको बताएका हुन्।

‘भेलामा बोल्ने अधिकांश नेताहरुको निष्कर्ष एकीकरणअघिकै संगठनात्मक संरचना र विचारबाट एमाले अघि बढ्नुपर्छ भन्ने रह्यो,’ केन्द्रीय सदस्य निरज आचार्यले भने, ‘अदालतको फैसलापछि एमालेको केन्द्र ब्युँतिएजस्तै जिल्लासहित सबै संरचनाले गतिविधि सञ्चालन गर्नुपर्छ। तर अहिले सरकारी पक्षले गुण्डागर्दी शैलीमा जिल्लाजिल्लामा काम गरेको छ।’

आचार्यका अनुसार ओली पक्षको गतिविधिको कारण अहिले जिल्लाजिल्लामा मुठभेडको अवस्था सिर्जना भएको निष्कर्ष भेलाले निकालेको छ।

नेपाल पक्षका काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यहरुको छलफलले जेठ २ गतेअघिको कमिटी एमालेभित्र सक्रिय बनाउनुपर्ने तथा त्यसबाहेकका अन्य संयन्त्रले काम गरे त्यो समानान्तर गतिविधि हुने निष्कर्ष निकालेको छ।

बैठकमा नेपाल, झलनाथ खनाल, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराईसहित उपत्यकामा उपलब्ध ५० जनाभन्दा बढी केन्द्रीय सदस्यहरु उपस्थित थिए।

उपाध्यक्ष रावलले धनगढीमा भएको घटनाको विषयमा जानकारी गराएका थिए। धनगढीमा एमालेको ओली र नेपाल पक्षबीच नेताहरुको नेमप्लेट राख्ने विषयमा झगडा भएको थियो।

बैठकमा केन्द्रीय सदस्यहरुले नेता नेपाललाई फैसलापछि ओली पक्षबाट एमालेलाई कसरी अघि बढाउने भन्ने विषयमा कस्तो प्रस्ताव आएको छ भनेर सोधेका थिए। तर, नेपालले ओलीसँग कुनै प्रकारको संवाद नभएको जानकारी गराएका थिए।

‘कुनै प्रकारको संवाद भएको छैन,’ बैठकमा नेपालले भने, ‘बैठक होला। त्यही बैठकमा सबै कुरा भन्ने विचारमा छु। अदालतको फैसलालाई सम्मान गर्ने भनेका छौँ।’

उनले जिल्लामा अहिले भएका गतिविधि राम्रो नभएको पनि बताए।

‘केन्द्रमा जस्तै जिल्लामा पनि २०७५ जेठ २ गतेको संरचनामा ब्युँतिएको छ। त्यो संरचनाबाहेक अन्यले गर्ने गतिविधि समानान्तर हुन्छ। अहिले जिल्लाजिल्लामा जे गतिविधि भएको छ त्यो राम्रो भएन,’ नेपालले भने, ‘पार्टीको अनुशासन र विधान सबैले मान्नु पर्छ।’

उनले अहिले भइरहेका गतिविधि नियन्त्रणका लागि तुरुन्तै एक्सन लिनुपर्ने आवश्यकता रहेको बताएका थिए।

बैठकमा नेता नेपालले एमाले बनाउनेमा ओलीको भन्दा बढी आफ्नो योगदान रहेको समेत बताएका थिए। नेपाल पक्षको भेलाले नेकपाको विभाजनबाट माओवादीतर्फभन्दा पनि एमालेतर्फ बढी क्षति भएकाले त्यसलाई कसरी पूर्ति गर्ने भन्ने विषयमा सबै मिलेर अघि बढ्न आवश्यक भएको जनाएको छ।

बैठकमा बोल्ने नेताहरुले माओवादीसँग एकता गर्दा पनि स्वागत र विभाजन हुँदा पनि स्वागत गरेर ओली पक्षले अनौठो व्यवहार देखाएको बताएका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad