नेपाल कम्युनिस्ट पार्टी (ने क पा) हुँदा प्रचण्ड–नेपाल पक्षमा लागेकी नेतृ रामकुमारी झाँक्री फेरि पुरानै पार्टी एमालेमा फर्किनुपरेपछि भावुक भएकी छन्।
नेकपा खारेज नहुँदासम्म प्रायः कडा कुरा गर्ने नेतृ झाँक्रीले एमाले ब्युँतिएको तीन दिनपछि भावुक ट्विट गरेकी हुन्।
‘प्रिय साथीहरू, शीतको थोपा बनी मुस्कुराइरहनेछु। मार्क्सवादीहरूले सुदूरपारिको क्षितिजमा पनि सम्भावना देखिरहेका हुन्छन्,’ बुधबार साँझ नेतृ झाँक्रीले ट्विटरमा लेखेकी छन्, ‘क्रान्तिकारीहरूले बारुदको धुवाँ र बादलभित्र पनि भविष्य देख्न सक्नुपर्छ।’
ऋषि कट्टेलले आफूले निर्वाचन अयोगमा पहिले नेकपा नामको पार्टी दर्ता गरेको भन्दै एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाविरुद्ध २ वर्षअघि सर्वाेच्च अदालतमा मुद्दा हालेका थिए।
जसको फैसला यही फागुन २३ गते गर्दै अदालतले उनको पार्टीलाई वैधानिकता दिई पछिल्लो नेकपा खारेज गरेको हो। साथै यसमा मिसिएका पुरानै दल एमाले र माओवादी केन्द्र पुनः अस्तित्वमा आएका हुन्। योसँगै अहिले यी दुई दलका नेता/कार्यकर्ता आआफ्नै पुरानो घरमा फर्किनुपरेको हो।
नेकपामा हुँदा झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली एवं राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध निकै कडा अभिव्यक्ति दिइरहेकी थिइन्। अहिले उनै ओलीको नेतृत्वको पार्टीमा सामेल हुनुपरेपछि उनी भावुक बनेकी हुन सक्छिन्।


प्रतिक्रिया