उक्त अन्तर्वार्तापछि हैरान बनेको बेलायती राजपरिवारले अन्तर्वार्ताको प्रतिक्रिया जनाउन तयारी थालेको बीबीसीले जनाएको छ।
बीबीसीका बेलायती राजपरिवारको विषयमा जानकार पत्रकार डेनिला रेल्फका अनुसार बकिङघम दरबारले ह्यारी र मेगनको दाबीमा प्रतिक्रिया जनाउन हतार गरेका छैनन्।
यद्यपी दरबारमा आकस्मिक बैठक भने बोलाइएको छ। दरबारले ह्यारी र मेगनको दाबीमा कसरी प्रतिक्रिया दिने भनेर तयारी थालेको बताइएको छ।
ह्यारी दम्पतीले रंगभेद, मानसिक समस्या, संचारमाध्यम तथा दरबारकै सदस्यका कारण आफूहरुले शाही पदवी त्यागेको बताएका थिए।
मेगन बेलायती राजपरिवारकी पहिलो गैरगोरा सदस्य थिइन्। मेगनले राजपरिवार भित्रैबाट आफ्ना छोरा आर्चीको छालाको रंगबारे चर्चा हुने गरेको ओप्रासँगको अन्तर्वार्तामा खुलाएकी थिइन्।
रंगभेदी व्यवहारबाट मानसिक समस्यामा रहँदा र बेलायती संचार माध्यमले पनि आलोचनात्मक समाचार प्रकाशित गरिरहँदा दरबारका अन्य सदस्यले समस्या समाधान गर्ने प्रयास नगरेकाे भन्दै आफूले आत्महत्याको सोच समेत बनाएको मेगनले बताएकी थिइन्।
ह्यारीका हजुरबा प्रिन्स फिलिप्स बिरामी भएकै अवस्थामा यसरी दरबारविरुद्ध अन्तर्वार्ता दिएर ह्यारी र मेगनले गल्ती गरेको बेलायती संचारमाध्यमले बताइरहेका छन्।
यस विषयमा धेरै मानिसहरुले प्रतिक्रिया जनाएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनकी प्रवक्ताले मेगनले साहसका साथ मानसिक समस्या उठाएको भन्दै उनको प्रशंसा गरेकी छिन्।
यस्तै अमेरिकाकी पूर्व विदेशमन्त्री तथा फर्स्ट लेडी हिलारी क्लिन्टनले पनि सन् २०२१ को महिलाले आफूमाथि भएको अन्यायको विषयमा बोल्न नडराउने भन्दै मेगनको साथ दिएकी छिन्।
बेलायतकै लेबर पार्टीका नेता सर किएर स्टार्मरले मेगनले उठाएको रंगभेद र मानसिक समस्यको विषयलाई गम्भीर रुपमा अनुसन्धान गरिनुपर्ने बताएका छन्।
त्यहाँका प्रधानमन्त्री बोरिस जोन्सनले भने हालसम्म यस विषयमा प्रतिक्रिया जनाएका छैनन्। यद्यपी उनले बेलायती शाही सदस्य तथा महारानी एलिजावेथको आफूले उच्च सम्मान गर्ने बताएका छन्।
यो पनिः श्रीमती र छोरामाथि रंगभेदी टिप्पणी बढेपछि ह्यारी शाही पदवी त्याग्न बाध्य भए
प्रिन्स ह्यारी र मेगनले भनेः छोरा आर्चीले बहिनी उपहार पाउँदैछन्

प्रतिक्रिया