ad ad

राजनीति


ओली र प्रचण्ड–नेपालले दाबी गरिरहेको नेकपा धरापमा, नामै फेर्नुपर्ने हुन सक्छ !

ओली र प्रचण्ड–नेपालले दाबी गरिरहेको नेकपा धरापमा, नामै फेर्नुपर्ने हुन सक्छ !

नेपालखबर
फागुन २३, २०७७ आइतबार ८:७,

ओली र प्रचण्ड–नेपाल समूहबीच नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को आधिकारिक पक्ष आफू भएको भन्ने प्रतिस्पर्धा चलिरहेका बेला सर्वाेच्च अदालतले आज (आइतबार) महत्वपूर्ण फैसला गर्दै छ।

अर्थात् यो नामको पार्टी आफूले पहिल्यै निर्वाचन आयोगमा दर्ता गरिसकेको भन्दै ऋषि कट्टेलले हालेको मुद्दाको फैसला आज हुने भएको हो।

कट्टेलले २०६९ सालमै ‘नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.)’ निर्वाचन आयोगमा दर्ता गराएका छन्। जुन दल २०७० को संविधान सभा निर्वाचनमा सहभागी भएको थियो।

यसपछि २०७४ सालको चुनावमा गठबन्धन गरेका तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेले पनि पार्टी एकता गरी ‘नेपाल कम्युनिस्ट पार्टी’ नै नाम राखे र आयोगमा दर्ता गराए।

एउटै नामका दुइटा दल दर्ता गर्न नपाइने प्रावधान छ।

यसैअनुसार कट्टेलले आफ्नो पार्टीकै जस्तो नाम भएको भन्दै उतिबेलै विरोध जनाएका थिए। तर आयोगले माओवादी केन्द्र र एमाले मिलेर बनेको पार्टीलाई ‘नेपाल कम्युनिस्ट पार्टी (ने क पा)’ अर्थात् कोष्ठमा लेखिने तरिका फरक पारेर दल दर्ता गर्न दियो।

त्यही दल पनि गत पुस ५ गतेयता (प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको सिफारिस गरेपछि) दुई समूह (प्रचण्ड–नेपाल र ओली) मा विभाजित छ र दुवैले त्यो दल आफ्नो पकडमा पार्ने प्रयास गरिरहेका छन्।

यहीबीच त्यो पार्टीको नामको विवादमा कट्टेलले हालेको मुद्दामा सर्वाेच्च अदालतले आज फैसला सुनाउन लागेकाे हाे।

यो मुद्दाको फैसला गत बिहीबार नै गर्ने भनिएको थियो। तर पूर्वन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधन भएका कारण शोकमा सर्वोच्चसहित सबै अदालत बन्द गरिएका कारण फैसलाको मिति आजलाई सारिएको हो।

नेकपा नामबारे कट्टेलले सर्वोच्च अदालतमा दर्ता गरेका रिटको सुनुवाइ यही फागुन ६ गते सकिएको हो। जसको फैसला न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आज गर्न लागेको हो।

निर्वाचन आयोग स्रोतका अनुसार अदालतले कट्टेलको पक्षमा निर्णय गर्‍याे भने सत्तारूढ दल नेकपाले आफ्नो नामै फेर्नुपर्ने हुन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .